काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ।
यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।
ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार के-के खोल्न दिने भन्नेबारे आज बैठक बसेपछि आदेश जारी गरिन्छ।
कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने उनले बताए।
‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने वा नदिनेबारे आज छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने हो भने स्वास्थ्य मापदण्ड पूर्ण रूपमा कसरी कडाइका साथ लागु गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्नुपर्नेछ।’
सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखिरहेका छन्।
निषेधाज्ञा थप खुकुलो हुने गरी प्रजिअहरूले आदेश जारी गर्ने तयारी गरेका छन्। निषेधाज्ञा जारी नै राख्ने तर सार्वजनिक यातायात खोल्ने कि नखोल्ने भन्नेमा निर्णय गर्न कठिनाइ भइरहेको छ।
आइतबार पनि प्रजिअहरू बैठक बसेका थिए। कोरोनाको जोखिम आकलन गरेर निषेधाज्ञामा थप के-के खुल्न दिने र चल्न दिने भन्ने आदेश सोमबार बेलुकीसम्म जारी हुने प्रजिअ निरौलाले बताए।
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको बताए। उनले सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिनेबारे छलफल भइरहे पनि सोमबार आवश्यक छलफलपछि निर्णय गरिने बताए।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८, २२:२८:००