रक्षामन्त्री मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आइतबार आयोजित कार्यक्रममा रक्षामन्त्री रिजालले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसंघको विश्वासिलो सहयात्री बन्न पुगेको बताए।
शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उनले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसंघ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पारे।
विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन्। हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन्।
नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ।
विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्छ भन्ने प्रमाणका रूपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसंघले गरिरहेका सहयोगको पनि प्रशंसा गरे।
नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलान्का मेडागान्डा लावेले संयुक्त राष्ट्र संघको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिन्।
बालाध्यक्ष रथी बालकृष्ण कार्कीले संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाका अनुशासित, व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताए।
नेपाली सेना शान्ति सेना निर्देशनालयका प्रमुख सहायक रथी सुदर्शन सिलवालले शान्ति सेनामा नेपालको गौरवमय इतिहास रहेको बताए।
त्यस अवसरमा कङ्गोमा शान्ति स्थापना कार्यमा खटिरहेकै अवस्थामा विद्रोहीको आक्रमणमा परी वीरगति प्राप्त गरेका मानार्थ प्रमुख सेनानी कवीन्द्रजंग थापालाई राष्ट्र संघद्वारा प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उनका परिवारका तर्फबाट उक्त केन्द्रलाई हस्तान्तरण गरिएको थियो।
समारोहमा वीरगति प्राप्त प्रमुख सेनानी थापाकी श्रीमतीलाई नेपाली सेनाका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।
संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाएर योगदान पुर्याउदै आएको छ।
नेपाली सेनाका अनुसार शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भीर घाइते भएका छन्।