उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औल्याउँदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।
चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभन्ज्याङस्थित श्री चण्डिका देवी माध्यमिक विद्यालयले आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सव २०७८ उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
अझै पनि कैयौं बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको भन्दै उनले शिक्षाका लागि आन्दोलन जरूरी रहेको बताए।
उपराष्ट्रपति पुनले भने, ‘शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरूरी रहेको छ। शिक्षा क्षेत्रमा विभेद हुनु हुन्न। पछिल्ला दिनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर समेत बढेर गएको छ। विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपमान्तरण सम्भव छ।’
सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए।
हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे।
विद्यालयको विकास र विस्तारका लागि आफ्नो पारिश्रमिकवापतको १५ दिनको रकम विद्यालयलाई प्रदान गर्ने घोषणा समेत गरे।
महायज्ञ मूल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले सोमबारदेखि २१ गतेसम्म हुन गइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञ गरिन लागेको बताए।
उनले ग्रामीण क्षेत्रको विद्यालयको हरेक गतिविधिमा सरिक हुन समेत आग्रह गरे।
चन्द्रागिरि २ का वडा अध्यक्ष गोपी सुर्खेतीले विद्यालयको भवन निर्माण र विद्यालयको चौतर्फी विकास गर्ने उद्धेश्यका साथ गर्न लागिएको कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए।
विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११/१२) सञ्चालनमा सहयोग पुग्ने उद्धेश्य उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।