ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ‘ठाउँको ठाउँ’ जरीवाना गर्न थालेको छ।
महानगरको छैठौं नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा जथाभावी पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै कारबाहीस्वरूप जरीवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।
अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरीवाना तिराउँदा सर्वसाधारणले थप झन्झट व्यहोर्नुपर्ने निष्कर्ष निकाल्दै ललितपुर महानगरले ठाउँको ठाउँ जरीवाना गराएर सचेत गराउन थालेको हो।
अनधिकृत पार्किङको जरीवाना गर्ने अधिकार महानगरपालिकालाई हुने भन्दै हाथेछुले आफूहरूले ट्राफिक प्रहरीको सहकार्यमा आफूहरूले कारबाही प्रक्रिया सुरू गरिएको जानकारी दिए।
नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगर भित्रका पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेल, मानभवन, कुमारीपाटी, कुपण्डोल, ग्वार्को, सातदोबाटोलगायतका फुटपाथ क्षेत्रमा अवैध रूपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरू गरेको हो।
‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरि पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको नगर प्रहरी प्रमुख सिताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।
जथाभावी पार्किङ गरेर छोडेका सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ गर्ने, उठाएर ल्याउने र ठाउँको ठाउँ जरीवाना तिराउने काम सुरू गरिएको उनले बताए।
उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरूत्साहित गर्न उक्त सवारी साधनलाई कारबाही गर्दै सचेत गराइएको हाथेँछुले बताए।
मङ्सिर १३ गतेदेखि सुरू गरिएको अभियानमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरिँदै आएको हो।
‘हामी नो पार्किङ, पैदल यात्रुलाई हिड्न अफ्ठेरो हुने गरि पार्किङ गरिएका र सडकमा गुड्ने सवारीलाई असर गर्ने गरि पार्किङ गरिएका सवारी साधनलाई कारबाही थालेका छौं, ‘यदि त्यसरी पार्किङ गरेका सवारी धनी भेटिए तत्कालै जरीवाना तिराएर अर्को पटकदेखि पार्किङ नगर्न सचेत गराउँछौ। सवारी धनी नभेटिए कार्यालयमा ल्याएर बेलुका ५ बजेपछि मात्र सवारी छोड्छौं।’
गल्ती गरेको ठाउँमा नै जरीवाना गर्दा चालक र यात्रुको समयको बचत हुने र झन्झट व्यहोर्नु नपर्ने उनले दाबी गरे। अनधिकृत पार्किङका कारण पैदल यात्रुले सहज रूपमा आवतजावत गर्नबाट वञ्चित भएका छन् भने, ट्राफिक जाम पनि बढ्ने गरेको छ।
ट्राफिक जाम न्यूनीकरण गर्न र दुर्घटना कम गराउन महानगरले पार्किङ निषेध गरिएको ठाउँमा सवारी पार्किङ गर्नेलाई जरीवाना गर्ने निर्णय गरेको थियो।
नगर प्रहरीले मोटरसाइकललाई ५ सय र गाडीलाई १ हजार जरिवाना लिन थालेको छ। पार्किङ निषेध गरिएका ठाउँ, साँघुरो बाटो र पेटीमा सवारी राख्नेलाई जरीवाना गर्ने र चक्का लक गर्ने काम पनि सुरु गरिएको हाछेथुले बताए ।
नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि २५ जना नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्नेछन्।
सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ,’ हाथेछुले भने।
यातायात व्यवस्था विभागका अनुसार २०७८ मंसिरसम्म काठमाडौँ उपत्यकामा ३९ लाख हाराहारीमा सवारी साधन दर्ता भएका छन्।
अधिकांश सवारी धनीले बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सडकमै सवारी पार्किङ गर्ने गरेको पाएपछि आइतबारदेखि लागूहुने गरी अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेर यसरी पार्किङ निषेध बनाउँदा सडक जाम कम हुने उनको विश्वास छ।
‘काठमाडौंमा पार्किङका लागि फराकिलो ठाउँ छैन, धेरैले सडकमै पार्किङ गर्छन्, हामीले सकेसम्म व्यवस्थित पार्किङका लागि अनुरोध गर्दै आएका छौँ। अब जति पनि व्यावसायिक फर्म, सपिङ मल वा भिडभाड हुने कार्यालय, बैंक, अस्पताल खुल्छन्, ती सबैलाई पार्किङस्थल बनाउन अनिवार्य गर्नुपर्छ,’ उनले भने, अब बन्ने हरेक घरको नक्सामै पार्किङस्थल अनिवार्य गर्नुपर्छ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ।