कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले संसारको ध्यान तानेको छ। झन्डै दुई वर्षअघि फैलिएको कोरोना महामारी मत्थर हुँदै गएका बेला केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोनले संसारभरि फेरि अनिश्चितता ल्याएको छ।
यसअघि फैलिएका भेरियन्टबाट ठूलो क्षति व्यहोरेका मुलुकहरूले अहिले ओमिक्रोनलाई निकै चनाखो भएर हेरिरहेका छन्। कतिले विदेशी प्रवेशलाई प्रतिबन्ध गरेका छन् भने देशभित्र पनि भ्याक्सिन लगाउने र स्वास्थ्य मापदण्डमा कडाइ गरिरहेका छन्।
नेपालमा सोमबार दुई जना संक्रमितमा ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको छ। मंसिर ३ गते नेपाल आएका एक जना विदेशी र उनको सम्पर्कमा आएका अर्का विदेशीमा पनि ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नेपालमा ओमिक्रोनका संक्रमित भेटिएसँगै अब के हुन्छ भन्नेमा आमचासो छ।
विशेषज्ञहरूले भने ओमिक्रोनबारे अहिले आत्तिनु नपर्ने तर सावधानी भने अपनाउनु पर्ने सुझाव दिएका छन्।
ओमिक्रोन भेरियन्ट पहिलो पटक देखिएको दक्षिण अफ्रिकामा भएका प्रारम्भिक अनुसन्धानले भने ओमिक्रोन बढी संक्रामक भए पनि यो बिरामीलाई सिकिस्त पार्ने खालको नभएको देखाएका छन्।
सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ओमिक्रोनका कारण महामारी बढिरहेको भए पनि यो अरू भेरियन्टभन्दा कम सिकिस्त पार्ने खालको भएको बताएका छन्।
रामाफोसाले भनेझैं अहिले दक्षिण अफ्रिका संक्रिमत ह्वात्तै बढिरहेका छन्। केही महिनाअघिसम्म दैनिक ३ सय जना संक्रमित थपिने गरेकोमा शुक्रबार, शनिबार १६ हजार बढी संक्रमित थपिएका थिए।
प्रिटोरियाका विभिन्न अस्पतालका अनुसन्धानकर्ताहरूले अहिले अस्पताल भर्ना भएका कोरोना संक्रमितहरू उनीहरूले यसअघि उपचार गरेका संक्रमितभन्दा कम सिकिस्त रहेको बताएका छन्। दक्षिण अस्पतालका अरू अस्पतालहरू पनि यस्तै देखिएको छ। कतिपय बिरामी त कोरोना भएर भन्दा अरू कारणले अस्पताल भर्ना भएको अनुसन्धानमा देखिएको छ।
दक्षिण अफ्रिकाका मेडिकल रिसर्च काउन्सिलको एचआइभी एड्स र क्षयरोग अनुसन्धान कार्यालयका प्रमुख डाक्टर फरिद अब्दुल्लाहले अस्पताल भर्ना भएका ४२ जना संक्रमितको मिहीन अध्ययन गरेका थिए। तीमध्ये २९ जनालाई श्वासप्रश्वासमा कुनै समस्या थिएन भने १३ जनाले अक्सिजन लिइरहेका थिए। ४२ मध्ये एक जनामात्रै १ जनामात्रै आइसियूमा थिए।
डाक्टर अब्दुल्लाहले अरू अस्पतालमा नोभेम्बर १४ देखि २९ सम्म भर्ना भएका १६६ जना बिरामीको पनि अध्ययन गरेका थिए। उनीहरूको औसत अस्पताल बसाइ २.८ दिन देखियो भने मृत्युदर ७ प्रतिशतभन्दा कम थियो। महामारीको १८ महिनामा कोरोना संक्रमितको औसत अस्पताल बसाइ ८.५ दिन थियो। संक्रमितको अस्पताल बसाइ छोट्टिदा अस्पतालहरूमा भीडभाड कम हुन्छ।
प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन धेरै सिकिस्त पार्न खालको नदेखिए पनि यी अध्ययनहरूको नमूना सानो छ र पिअर रिभ्यू हुन पनि बाँकी छ।
ओमिक्रोन भेरियन्ट के हो?
पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।
ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।
किन यसको नाम ओमिक्रोन नै राखियो?
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राख्ने निर्णय गरेको छ। जसअनुसार बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टको नाम बेटा राखिएको थियो। भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखिएको थियो। अहिले भेटिएको भेरियन्टको नाम नु राखिनु पर्थ्यो। त्यसपछि अर्को अल्फाबेट सी थियो।
नु राख्दा धेरै मानिसले न्युजस्तो सुन्न सक्ने र सी धेरै मानिसको थर (जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ) हुने भएकाले यी अल्फाबेटलाई छोडेर ओमिक्रोन राखिएको हो।
आफ्नो नीतिअनुसार कुनै जातीय समुदाय, सामाजिक, राष्ट्रिय, क्षेत्रीय र पेशागत समूहलाई असर पर्ने गरी भेरियन्टको नाम नराखिने डब्लुएचओले जनाएको छ।
(न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीमा आधारित)