झापाको दमकमा एक पुरूषको हत्या भएको छ।
गत बुधबार राति सवा ७ बजे दमक नगरपालिका वडा नम्बर ६ नमुनामार्गस्थित घिमिरे मार्केटका सेल्सम्यानको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
वडा नम्बर २ बस्ने २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
उनका अनुसार सुरूमा मार्केटका सञ्चालक सन्तोष पौडेलले शव देखेका थिए। पराजुलीको घाँटी र अनुहारमा धारिलो हतियारले काटिएको थियो भने रक्ताम्मे भई बेहोस अवस्थामा लडिरहेको फेला परेका थिए।
तत्कालै उपचारको लागि उनलाई लाइफ लाइन अस्पताल दमक पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो।
त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। अनुसन्धानकै क्रममा हत्या आरोपमा प्रहरीले बिहीबार वडा नम्बर १ का २० वर्षीय अर्जुन लिम्बुलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूबीचको पुरानो रिसइबीका कारण हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
प्रहरीका अनुसार मृतक र आरोपितबीच २/३ महिना अगाडि झगडा भएको थियो। त्यसक्रममा आरोपितमाथि कुटपिट हुँदा टाउकोमा चोट समेत लागेको थियो।
त्यसैको रिसइबी राखी बदलाको भावना लिई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको दाउ, झोला, जुत्ता र कपडाहरू बरामद गरेको छ।
घटनामाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत झापाबाट शुक्रबार ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।