काठमाडौंको स्वयम्भूनजिक छाउनीमा एक ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार भएको छ।
शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि चक्कु प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार भएको हो।
लामालाई ट्याक्सीमा सवार बारा कलैया घर हुने १९ वर्षीय विकास सरावले धारिलो हतियार चक्कुले घाँटीमा प्रहार गरेका थिए। चक्कु प्रहार गरेको आरोपमा सरावलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
घाइते लामाको उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि राति नै ट्रमा सेन्टर लगिएको थियो।
अहिले उनको त्यही अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
सरावले लामामाथि चक्कु प्रहार गर्नुको कारण भने खुलिसकेको छैन।
उनीहरूबीच चिनजान पनि नभएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। चालकले पनि आफूहरूबीच कुनै विवाद नभएको प्रहरीसमक्ष बताएका छन्।
घटनाबारे वृत्तले थप अनुसन्धान गरिरहेको बताएको छ।