सिरहाको गोलबजारमा छुरा प्रहार गरी हत्या गरेको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत शनिबार राति साढे ८ बजे गोलबजार नगरपालिका वडा नं. ६ स्थितमा दुई पक्षबीच झडप हुँदा छुरा प्रहार गरी एक जनाको हत्या भएको थियो। एक जना घाइते समेत भएका थिए। सोही वडाका डोहटिया बस्ने २६ वर्षीय रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो। २६ वर्षीय रिकेश सदा घाइते छन्।
त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
सोही नगरका २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन्।
प्रहरीले दुई जनालाई गत आइतबार र बाँकी तीन जनालाई मंगलबार पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार यसमा केही व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको बताए।
दुई पक्षबीच पहिले कुनै रिसइबी नभएको प्रहरीले बताएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गत शनिबार राति मृतक रामप्रसाद सदा लगायतको समूह वडा नं. ६ स्थित लक्ष्मी मन्दिरदेखि पश्चिमतिर घर जाँदै थिए।
उनीहरू बाटोमा हो-हल्ला गर्दै हिँडिरहेका थिए। त्यही ठाउँमा दीपक साह लगायतको समूह पनि बसिरहेको थियो।
बाटोमा होहल्ला गर्दै हिँडेपछि साह लगायतले भने,‘ किन हो-हल्ला गरेको ? हल्ला नगरी आफ्नो घर जानू।’
त्यसपछि उनीहरूबीच विवाद सुरू भई झगडासम्म हुन पुगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
झगडाकै क्रममा दीपक साहको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
छुरा प्रहारपछि रामप्रसाद सदा र रिकेश सदा घाइते भएका थिए।
उनीहरूलाई उपचारको लागि गोलबजारको भूमिजा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि उनीहरूलाई आर.के. मेडिसिटी अस्पताल धनगढी पुर्याउँदा उपचारको क्रममा रामप्रसादको मृत्यु भएको थियो।
रिकेश यादव अहिले सोही अस्पतालमा उपचाररत छन्।
यस घटनापछि गोलबजारका स्थानीयले विरोध प्रदर्शन गर्दै पूर्व-पश्चिम राजमार्ग समेत अवरोध गरेका थिए। उनीहरूले घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरेका थिए।
घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय गोलबजारबाट संयुक्त टोली खटिएको थियो।
पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ।