काठमाडौंका दुई ठाउँमा शंकास्पद अवस्थामा भेटिएका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले कागेश्वरी मनोहराको शिवचोक र बौद्धमा शुक्रबार शंकास्पद अवस्थामा कार फेला पारेको थियो।
एसपी दीपक गिरीका अनुसार शिवचोकमा फेला परेको कार बा१६च ३१३१ नम्बरको छ भने बौद्धमा फेला परेको कार बा१६च ४०१७ नम्बरको छ।
कारसँगै चालकहरू जोरपाटी बस्ने ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुलीका ३९ वर्षीय मोहन लामालाई पनि नियन्त्रणमा लिइएको एसपी गिरीले जानकारी दिए।
यी दुवै कार भन्सार जाँच पास भए–नभएको खुलेको छैन। दुवैको नम्बर प्लेटबारे यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अभिलेखमा जाँच गर्दा कुनै विवरण नभेटिएको उनले बताए।
यी कारहरू भारतबाट चोरी गरेर नेपाल ल्याइएको हुन सक्ने अनुमान गरिएको छ।
'नेपालको अभिलेखमा नभेटिएकाले भारतबाट चोरी गरेर ल्याएको हुनसक्ने अनुमान गरेका छौं। त्यसैले नियन्त्रणमा लिएका हौं,' एसपी गिरीले भने।