विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ। सिस्ने-५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो।
उनी घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने-५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ।
शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ। परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो। त्यसै सिलसिलामा बुधबार शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए। शाहको शव घाँस काट्न गएका स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताए। परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। रासस