प्रहरीले इटहरीबाट ७२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका-२० बाट सोमबार बिहान गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय भूपेन्द्र राई र ३३ वर्षीय सन्जीप राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
तरहरा प्रहरी चौकीनजिकैको जंगलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरिएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए।
उनीहरू सवार प्रदेश १-०२-०४२ प ६२१९ मोटरसाइकल रोक्ने क्रममा गाँजा बरामद भएको खड्काले बताए।
मोटरसाइकलमा दुई वटा पोकामा गाँजा फेला परेको खड्काले बताए। पक्राउ गर्ने क्रममा सन्जीप राई घाइते भएको खड्काले बताए।
उनको अहिले नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
पक्राउ परेका अर्का भूपेन्द्र राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको खड्काले बताए।
‘मोटरसाइकल रोक्ने क्रममा गाँजा छोडेर उनीहरू भाग्न खोजे, त्यसक्रममा प्रहरी भ्यानले पछ्याएर पक्राउ गरेको हो, त्यसक्रममा एक जना घाइते भएका छन्,’ खड्काले भने।