प्रदेश नम्बर २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ।
बुधबार अपराह्न सवा ४ बजे विष्णुपुर गाउँपालिका- ६ स्थित चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। ज १ झ ४०६ नम्बरको स्कार्पियो गाडी आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
गाडी पल्टिँदा राज्यमन्त्रीसहित ६ जना घाइते भएका छन्।
सप्तरीको खडक नगरपालिका-६का जयप्रकाश चौधरी, प्रथमलाल राम, राजविराज नगरपालिकाका ध्रुब मण्डल, चालक शम्भुनाथ नगरपालिका-६ का विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसी साह घाइते छन्।
छिन्नमस्ताबाट राजविराज आउनेक्रममा सो दुर्घटना भएको हो। घाइतेहरूको छिन्नमस्ता अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ।
उनीहरू सबै जनाको अवस्था सामान्य छ।