झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
मेचीनगर नगरपालिका-७ स्थित इन्द्रेणी टोलको एक घरमा भएको आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको थियो। प्रहरीका अनुसार आगो निभाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्किँदा उनको मृत्यु भएको हो।
आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १६ जना घाइते भएका छन्।
सोही ठाउँका ४० वर्षीय लेखनाथ तिम्सिना, ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुभलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, २८ वर्षीय सन्देश बोहरा, ४० वर्षीय भवानी शंकर न्यौपाने, ३४ वर्षीय निर्मल शर्मा र ३५ वर्षीय नवराज श्रेष्ठ लगायत घाइते छन्।
त्यस्तै ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन्।
घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विस्फोट भएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।