सुर्खेतमा निर्माण गरिएको सुर्खेत सभाहल वीरेन्द्रनगर नगरपालिकलाई हस्तान्तरण गरिएको छ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सभाहल बिहीबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा औपचारिक कार्यक्रम गरी सभाहल हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सभाहल व्यवस्थित रूपमा सञ्चालन गर्न सबै निकाय जिम्मेवार भएर लाग्न आग्रह गरिन्।
‘यो निर्माण मात्र भएको हो, अब यसलाई सञ्चालन गर्ने सन्दर्भमा हलको मर्मत र यसमा लाग्ने जनशक्तिलाई आफैं पाल्न सक्नेगरी सञ्चालन गरिनुपर्छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेगरी सञ्चालन गर्न आग्रह गर्दछु।’
मन्त्रालयका सचिव मणिराम गेलालले सभाहल सञ्चालनका क्रममा मर्मतसम्भारको विषयमा विशेष ध्यान दिन आग्रह गरे।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सभाहल निर्माणपछि सञ्चालनमा चुनौती भएकाले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए।
प्रदेशस्थित निजी क्षेत्रले पनि व्यावसायिक वस्तु प्रदर्शनीजस्ता कार्य गरेर हलको आम्दानीमा योगदान गर्न सक्ने उनले बताए।
उनका अनुसार यस्तै साना तथा ठूला सभाहलहरू विभागले देशभर ४० वटा बनाउँदैछ। सात वटा प्रदेशका राजधानीमा निर्माण गर्न लागिएको ठूला सभाहलहरूमध्ये सुर्खेतमा निर्माण सम्पन्न भएको यो सभाहल पहिलो भएको महानिर्देशक मैनालीले बताए।
उनका अनुसार यो सभाहल बिमस्टेक, सार्क सम्मेलन जस्ता ठूला सभा सञ्चालन गर्न मिल्नेगरी निर्माण गरिएको छ।
२०७३ चैतबाट बन्न सुरू भएको सुर्खेतको सभाहल यो वर्ष निर्माण कार्य सम्पन्न भएको हो।