इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ।
बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन्।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरूको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ।
‘हाइटेक क्लास रूम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए।
सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरूका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्दतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनहरूको अध्ययन आवश्यक रहेको बताए।
इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।
सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ। हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ।