विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि तुलसीपुरका तीन सामुदायिक विद्यालय बन्द भएका छन्।
तुलसीपुर बजारको सेन्टर मावि तुलसीपुर, तुलसीपुर-४ को गुरुजजुर नमूना मावि र तुलसीपुर-८ को अश्वारा मावि बन्द भएका हुन्।
बिहीबार बुलुका तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीसहित सरोकारवालाहरूको बैठकले संक्रमण फेला परेका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
‘जहाँ-जहाँ संक्रमित भेटिएका छन्, ती विद्यालयहरु स्वास्थ्य प्रोटकल अनुरुप स्वत: बन्द हुन्छन्,’ मेयर पाण्डेले भने, ‘अन्य विद्यालयको हकमा के गर्ने भन्ने सवालमा शुक्रबार छलफल पनि एउटा निष्कर्षमा पुग्ने छौं।’
शून्य अवस्थामा झरेको कोरोना संक्रमण पछिल्लो समय तीब्र रुपमा फैलिएको छ। तुलसीपुरमा तीन दिनको अवधिमा ८४ जना नयाँ सक्रिय संक्रमित थपिएका छन्।
तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना विद्यार्थी तथा शिक्षक, ८ जना स्वास्थयकर्मी र समुदायका थप ११ जनामा संक्रम पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।
बिहीबार २५ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए।
संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको फोकल पर्सन केसीले बताए।
त्यस्तै, अन्य केही दिनमा भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइने तयारी गरिएको केसीले जानकारी दिए।