दाङ प्रहरीले किसानसँग राँगाभैँसी खरिदमा झन्डै पौने ३ लाख ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ परेका गढवा गाउँपालिका – ४ पर्सा गाउँका ४४ वर्षीय मोहम्मदजमिल मुलसमानलाई बिहीबार दाङ प्रहरीले सार्वजनिक गरेको हो।
उनले दंगीशरण गाउँपालिका – ४ सुकदेवा गाउँका किसान तेजमान चौधरी लगायत तीन किसानबाट तीन जोडी (६ वटा) राँगाभैँसी उधारोमा खरिद गरेका थिए।
उनले किसानहरुलाई फकाइ फुल्याइ र विभिन्न प्रलोभन देखाएर पर्ने भन्दा कम मूल्य २ लाख ८० हजारमा राँगा किनेका थिए। मूल्य कम तोकेर उनले उधारोमा राँगाभैँसी लिएर गएका थिए।
त्यसपछि सम्पर्कविहीन भएपछि किसानहरूले जिल्ला प्रशासन कार्यालयमा ठगीको निवेदन दिएका थिए।
प्रशासनले पीडित किसानले दिएको निबेदनमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पठाएको थियो ।
प्रशासनले पठाएको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयले ठगी गर्ने मोहम्मदजमिललाई सम्पर्क गर्ने प्रयत्न गरे पनि उनी सम्पर्कमा आएनन्।
असार २२ राँगाभैँसी बेचेका तेजमान चौधरीले लमही नगरपालिकाको रातोडाँडामा मोहम्मदजमिललाई फेला पारेका थिए। त्यसपछि उनले आफूले बेचेको राँगाको पैसा मागेका थिए।
पैसा मागेपछि उल्टै 'दिन्नँ, जे सुकै गर्' भनेर धकेलेर हातपातको प्रयास भएपछि तेजमानले प्रहरीमा उनीविरूद्ध प्रहरीमा अभद्र व्यवहारमा किटानी जाहेरी दिएका थिए।
त्यसपछि खोजी गर्दै जाँदा प्रहरीले मोहम्मदजमिललाई असार २३ गते गढवा क्षेत्रबाट नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए।
उनले अरूमाथि पनि त्यसरी नै ठगी गरेको हुनसक्ने भएकाले प्रहरीले त्यसमा थप अनुसन्धान गरिरहेको छ भए अरू कोही पीडित छन् भने जाहेरी लिएर आउन आग्रह गरेको छ।