विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय आठ दिनसम्म बन्द गरेको छ।
तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि संक्रमणको चेनब्रेक गर्नका लागि उपमहानगरभरिका सबै विद्यालय आठ दिन बन्द गर्ने निर्णय भएको बताएको छ।
मेयर घनश्याम पाण्डेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा तीव्र रूपमा संक्रमण फैलिएको हुँदा त्यो नियन्त्रण गर्न विद्यालय बन्द गर्नुपरेको सेतोपाटीलाई बताए।
तुलसीपुरको सेन्टर मावि, गुरु जजुर नमूना मावि, अश्वारामा मावि समेत गरी तीन विद्यालयका शिक्षक र विद्यार्थीमा संक्रमण देखिएपछि ती विद्यालय बन्द अवस्थामा छन्।
भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्न तथा आन्तरिक परीक्षासमेत स्थगित गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। संक्रमणको अवस्था हेरेर माघ ४ गतेपछि मात्रै विद्यालय सञ्चाल गर्न आग्रह गरिएको छ।
शून्य अवस्थामा झरेको कोरोना संक्रमण दर तीन अवधिको अवधिमा तुलसीपुर क्षेत्रमा मात्रै ८४ जना पुगेको छ।
