कोरोना संक्रमण सुरू भएयता नेपालमा हालसम्मकै सर्वाधिक संक्रमित आज पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १० हजारभन्दा बढी संक्रमित फेला परेको हो।
यो संख्या नेपालमा कोरोना संक्रमित फेला परेदेखि एकै दिनमा देखा परेको सर्वाधिक संख्या हो।
यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए।
मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।
देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।
यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।
यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन्।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ।
यसैबीच माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको हो।
मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने जानकारी गराएका हुन्।
जसमा झन्डै १० हजार विरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ। यस्तै अस्पताल भर्ना भएका विरामीमध्ये ३ सय ९४ जना गम्भिर बन्नसक्ने बताइएको छ।
समग्रमा तेस्रो लहरमा झन्डै १५ हजार गम्भीर संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको छ।