हाम्रो जन्मभूमि सामाजिक संस्था सिन्धुपाल्चोकले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।
सामाजिक कार्य गर्ने उद्देश्यका साथ एक वर्षअघि सिन्धुपाल्चोकको चौतारामा स्थापना भएको संस्थाले शनिबार ललितपुर टिकाथलीमा आफ्नो स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक क्षेत्रमा कार्यरत् पाँच जनालाई सम्मान गरेको छ। सम्मानित हुनेमा रीता देउजा, नानु घिमिरे, शान्ता गौतम, राजु गिरी र निर्मलप्रसाद घिमिरे छन्।
उनीहरूलाई प्रमुख अतिथि प्रदीपराज वन्त, संस्थाकी अध्यक्ष गीता श्रेष्ठले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
अध्यक्ष श्रेष्ठका अनुसार सस्थाले पीडामा रहेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई सहयोग गरेको थियो।
यस्तै, उक्त संस्थाले पढ्न नपाएका असहाय बालबालिका, उपचार नपाएका व्यक्तिहरू, मिर्गौलापीडितहरूलाई सहयोग गर्दै आएको छ।
संस्था टिकटकको माध्यमबाट नेपाल र विदेशमा रहेका नेपालीहरूको संयुक्त पहलमा स्थापना भएको हो।
संस्थाले सिन्धुपाल्चोक, चितवन, सुनसरी, धादिङ, गुल्मी, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा आफ्नो कार्यक्रम गर्दै आएको छ।