जंगल भित्रभित्रै नेपालको एक हरियाली डाँडामाथिको बाटोमा एउटा पुरानो बस गुडिरहेको थियो। त्यो बसमा म थिएँ, एक युवाशक्ति। गर्मी बिदामा घर फर्किँदै गरेको। मसँगै बसेको थियो कृषि- नेपालको समृद्धिको असल आधार तर आज गम्भीर घाइते अवस्थामा।
यात्राको क्रममा म सोच्दै थिएँ, कृषि नै हाम्रो पहिचान हो, हाम्रो अन्नको भकारी, हाम्रो संस्कृतिको जग तर आज किन यति उपेक्षित? मलाई लाग्थ्यो, कृषि कुनै वृद्ध बा जस्तै थिए, जसरी आफ्नो सन्तानहरूलाई हुर्काए, शिक्षित बनाए, विदेश पठाए तर अहिले आफै वृद्धाश्रममा छन्- बिर्सिएका, एक्ला।
बसको झ्यालबाट बाहिर हेर्दा म देख्थेँ बाँझो खेत, जहाँ कहिल्यै धान नरोपिएको जस्तो लाग्थ्यो। लहरा चढ्न नपाएका मकैका बोटहरू झुकेका देखिन्थे। तर त्यही म देख्थेँ एउटा बुढा किसान-मेरी आमाजस्तै जिन्दगीभर कोदालो समाएर माटोसँग माया गरेका, अझै पनि पसिना बगाउँदै।
जुन कृषि मसँग बसमा चढेको थियो, त्यो भने बेहोस जस्तै थियो; मल नपाएर, सिँचाइ नभएर, बजारको अस्थिर मूल्यले सास फेर्न नसक्ने। कृषि यस्तो अवस्थामा पुगिसकेको थियो कि कतै डाक्टरले मृत्यु घोषणा गर्दिने हो कि भन्ने डर थियो। उसलाई प्रोत्साहनको सुई, नीतिगत अक्सिजन र प्रविधिको औषधि चाहिन्थ्यो।
हाम्रो देशमा जब विदेश जान सकिन्न, जब जागिर पाइन्न तब मात्र फेरि गाउँ फर्केर कृषि गरिन्छ। हामीले कहिल्यै कृषि र किसानलाई आदर गर्न सिकेनौँ। हाम्रो पठनपाठन, हाम्रो नीति निर्माण, हाम्रो मिडिया, सबैले कृषिलाई दोस्रो दर्जाको विषय बनाए। तर कृषिले भने चुपचाप हाम्रो जीवन धानिरहेको छ। आधी आएको बेलामा अन्नको भण्डार बनिरहेको छ, महामारीमा रोजगार सिर्जना गरिरहेको छ। उसले कहिले गुनासो गरेन, बस् सास फेर्दै आयो गम्भीर घाइते भए पनि।
त्यही बसको पछाडि एउटा सानो केटो थियो, सानो बिरुवा बोकेको। उसले मलाई हेरेर भन्यो, ‘दाजु, म यो नर्सरीमा लगेर सुन्तला फलाउने हो।’
त्यो केटाको आँखा हेरेर मलाई लाग्यो, कृषि अझै मरेको छैन। ऊ गम्भीर घाइते छ तर हाम्रो मायाले, हाम्रो सिपले, हाम्रो समर्पणले फेरि उठ्न सक्छ।
म त्यो बसबाट ओर्लिएँ। कृषि पनि साथमै ओर्लियो, थाकेको तर मसँग हिँड्न तयार। फर्किनु पर्ने बाटो पनि एउटै थियो- गाउँको माटो, पसिनाको मूल्य र आत्मनिर्भर भविष्य।
नेपाल सरकारलाई, नीति निर्माताहरूलाई र कृषि क्षेत्रमा संलग्न सबै निकायहरूलाई यस क्षणमा म यसै गम्भीर घाइते बसको एक सवारको नाताले बोल्न चाहन्छु।
नेपालमा कृषकको सन्तान कृषि गर्न चाहँदैन। युवा बिदेसिनुमा दोष दिनुअघि सोच्नुहोस्, किन खेत बेचेर एयर टिकट किनिन्छ? किन बारी बाँझो बन्यो? मलिला जमिनमा किन घर बने?
नेपालमा थुप्रै कृषि प्रविधि विकास भएका छन्। टनेल खेतीदेखि ड्रिप इरिगेसनसम्म। तर यी प्रविधि सामान्य किसानको बगालसम्म पुग्न सकेका छैनन्। कृषि कार्यालयहरूमा सूचना छ तर कृषकको हातमा छैन।
कृषि पढाइन्छ तर खेतको माटो चिन्न लगाइँदैन। म जस्ता कृषि विषय पढेका युवाहरू कागजी प्रमाणपत्र लिएर कृषि कार्यालय छिर्छन् तर माटो, पानी, बिउ र कृषकसँग नाता जोड्न सक्दैनन्।
आज मजस्तै हजारौँ युवा कृषिमा सम्भावना देखिरहेका छन् तर तिनीहरूलाई एउटा सक्षम, सहयोगी र दीर्घकालीन दृष्टिकोण भएको सरकार/खम्बा आवश्यक छ। एक युवा कृषकले बैंक ऋण सहज रूपमा पाउनुपर्छ। एउटा बारीमा वैज्ञानिक सल्लाह,बिउ र मल सहज रूपमा पुग्नुपर्छ। उत्पादकले मूल्य पाउनुपर्छ र उपभोक्ताले गुणस्तर पाउनु पर्छ।
हामी एउटै बसमा छौँ- म, कृषि र तपाईंहरू। तर कृषि घाइते छ र चालक सुतिरहेको छ। समय छ, यसलाई बचाउनु पर्छ।
अन्त्यमा,
नेपाल कृषि प्रधान होइन, कृषक प्रधान बनोस् र कृषि अनुदानको आश्रित प्रणाली होइन, स्वाभिमानको स्रोत बनोस्।
(म- एउटा युवा, कृषि- हाम्रो मूल आधार एउटै यात्रामा छौँ। हामी एउटै गन्तव्यतर्फ विकास र समृद्धिको खोजीमा छौँ। त्यो सानो केटो- कृषिमा आशावादी नयाँ पुस्ता। बस- हाम्रो देश, हाम्रो प्रणाली, हाम्रो समाजको प्रतीक।)