‘अनि के गर्दै हो त आजभोलि?’
यो प्रश्न दिनहुँ जसो कतिलाई हामीले सोधेका हुन्छौँ अनि हामीले नै यसको जवाफ दिएका पनि हुन्छौँ। खास गरी परिचित मान्छे केही समय वा वर्षपछि भेट हुँदा हामीले प्रायः सोध्ने प्रश्न यही हो- अनि के गर्दै हो त आजभोलि?
कतै जागिर वा पेसा हुनेलाई कतिपय अवस्थामा हामी आफैले पनि सोधेका पनि छौँ। सामान्य बोलचालको यो प्रश्नले कहिलेकाहीँ अत्यन्त गहिरो अर्थ बोक्छ। खास गरी अहिलेको समय, प्रविधिको युग, दौडधुपको युग, उपभोगको युगमा यस प्रश्नले हामीलाई आफ्नो जीवन, उद्देश्य र दायित्वमाथि पुनर्विचार गर्न बाध्य पार्दछ। हाम्रो जीवनको अर्थ र उपयोगिता खोज्न यो प्रश्नले भन्दा बढी प्रेरित हामीलाई अरू कुनै कुराले गर्दैन।
आजभोलि मानिसहरूको दैनिकी निकै व्यस्त देखिन्छ— विद्यालय, कलेज, अफिस, घर, समाज, सामाजिक सञ्जाल, व्यवसाय, प्रविधि, राजनीति, सपनाहरू र बाध्यताहरूको चङ्गुलमा। तर यो व्यस्तता वास्तवमै अर्थपूर्ण छ त? कि हामी केवल ‘व्यस्त देखिन’ चाहिरहेका छौँ या वास्तवमै व्यस्त छौँ?
हामी हरेक दिन उठ्छौँ, काम गर्छौँ, खान्छौँ, घुम्छौँ, मोबाइल हेर्छौँ, फेसबुकमा फोटो हाल्छौँ, टिकटक बनाउँछौँ। तर के यी क्रियाकलापले हाम्रो आत्मा सन्तुष्ट छ? के हामी आफैँसँग इमानदार छौँ? के यो समय, जसमा हामी बाँचिरहेका छौँ, आत्म–विकास र समाज सुधारतर्फ उन्मुख छ? के हामी जसरी फेसबुकका तस्बिरमा जस्तै वास्तविक जीवनमा हाँस्न सकेका छौँ?
कसैको लागि ‘आजभोलि’ परीक्षा दिने समय हो, कसैको लागि जागिर खोज्ने संघर्ष, कसैको लागि विवाहको तयारी र कसैको लागि देश छोड्ने योजना। तर यति धेरै योजना, लक्ष्य र व्यस्तता हुँदाहुँदै पनि धेरै मानिसहरू मानसिक रूपमा थाकेका छन्, निराश छन्, अलमलमा परेका छन्। किन?
स्मार्टफोन, ल्यापटप, इन्टरनेट, युट्युब, गेम, सामाजिक सञ्जाल— यी सबैले हाम्रो दैनिक जीवनको ठुलो भाग ओगटेका छन्। प्रविधिको प्रयोगले जीवन सजिलो बनाएको छ तर यसकै कारण हामी आफन्तसँगको आत्मीयता गुमाउँदै गएका छौँ। एकै घरमा बसेका मानिसहरू मोबाइलमै हराएका छन्, संवाद हराएको छ, सँगै बसेर पनि मनका कुरा साट्न नपाइने भएको छ।
आजभोलि के गर्दै छौँ हामी? विगत हेर्ने फुर्सद छैन, भविष्य योजना बनाउने चेत छैन, वर्तमान बितिरहेको छ— अनायासै, बिना सोच बिना योजना।
नेपालजस्ता देशमा युवा शक्ति परिवर्तनको आधार हो भन्ने भनाइ छ। तर आजका युवाहरूको ठुलो हिस्सा विदेश जानकै सपना बुनिरहेको छ। देशमा केही गर्ने जोस छ तर अवसर छैन। अवसर छ जस्तै लाग्छ तर पहुँच छैन। त्यसैले धेरै युवाहरू समय र सीप दुवै गुमाउँदै छन्।
‘के गर्दै छस् आजभोलि?’ भन्ने प्रश्नमा प्रायः उत्तर आउँछ— घुम्दै छु, आएल्ट्स गर्दै छु, भर्खर जागिरको फारम भरेँ, केही सोच्दै छु, दाइ, केही भा’ छैन। पढाइ चल्दै छ।
यो किन? के हाम्रो शिक्षा प्रणाली कमजोर छ? कि समाजले युवाहरूको क्षमता नचिनिरहेको हो?
हामी केवल आफ्नो लागि होइन; परिवार, समाज र राष्ट्रको लागि पनि बाँचिरहेका छौँ। आजभोलि हामी कुन हदसम्म आफ्नो समाजको जिम्मेवारी बोकेका छौँ? आफ्नो क्षेत्र, जात, धर्म, राजनीतिक दल मात्र सोच्ने चलन बढेको छ। साझा हित, सहकार्य, सद्भाव— यी शब्दहरू भाषणमा मात्र सीमित भइरहेका छन्।
यदि हामीले ‘आजभोलि’ केही सकारात्मक गरिरहेका छैनौँ भने भविष्यमा पछुताउनु बाहेक केही बाँकी रहँदैन।
अब हामीले आफैँलाई सोध्ने बेला आएको छ—
‘अनि के गर्दै हो त आजभोलि?’
के गर्दै छौँ हामीले हाम्रो आत्मा, हाम्रो सपना, हाम्रो परिवार र समाजका लागि?
हामीले सोच्नुपर्छ— के हामीले हरेक दिन केही उपयोगी सीप सिकिरहेका छौँ? के हाम्रो ज्ञान विस्तार भइरहेको छ? के हामी कसैलाई हर्षित बनाइरहेका छौँ? के हामी सामाजिक, पारिवारिक र नैतिक जिम्मेवारी निभाइरहेका छौँ?
यदि उत्तर ‘हो’ छ भने हामी सही बाटोमा छौँ। यदि ‘छैन’ भने आजैबाट सुरु गर्नुपर्ने बेला आएको छ।
अनि के गर्दै हो त आजभोलि? केवल एक प्रश्न होइन, यो चेतना जगाउने घण्टी हो। हामीले यस प्रश्नलाई हलुका रूपमा होइन, गम्भीर रूपमा लिनुपर्छ। जीवन छोटो छ, समय अमूल्य छ र हामीसँग केही गर्ने शक्ति छ।
आजको समय सोच्न, सुधार्न र सुरुवात गर्न उपयुक्त समय हो। अब ‘के गर्दै हो त?’ भन्ने प्रश्नको उत्तर गर्वका साथ दिन सक्ने बन्नुपर्छ— ‘म केही गर्दै छु’ जसले जीवनमा फरक अर्थ राख्छ, जसले म हुनुको महत्त्व बताउँछ।