'सबैको जिन्दगीमा उज्यालो ल्याउने बिजुलीले मेरो जिन्दगीमा चाहिँ किन अँध्यारो ल्यायो होला हँ?'
अनिल पहरीलाई यो प्रश्नले लखेट्न थालेको डेढ वर्ष भयो।
बाइस वर्षीय अनिल आफ्नो उमेरका साथीहरू दौडिरहेको देख्दा आफैलाई सम्हाल्न सक्दैनन्। आँखामा टिलपिलाएको आँसु लुकाउँदै टोलाइरहन्छन्।
साथीहरू जस्तै दौडिने उनको सपना छ। तर दौडिन त के, फटाफट हिँड्न पनि सक्दैनन। अरूलाई एक घन्टा लाग्ने बाटो काट्न उनलाई दुई घन्टा लाग्छ। त्यही भएर घर–कार्यालय आउजाउ गर्न पनि समस्या छ।
उनको कार्यालय जान उकालो–ओरालो र कान्लाहरू चढ्नुपर्छ। त्यस्तो बाटो हिँड्दा पहरीका खुट्टालाई शरीर थेग्न हम्मे पर्छ। हिँड्दा हिँड्दै खुट्टाले साथ नदिएको भान हुन्छ। तैपनि हिम्मत हार्दैनन्। बीच बीचमा थकाइ मार्छन् र अगाडि बढ्छन्।
उनी सधैं यस्ता थिएनन्।
डेढ वर्ष अघिसम्म उनी अरूजस्तै हिँड्न सक्थे, दौडिन सक्थे। अहिले पाइला चाल्न गाह्रो पर्ने बाटो पानीपँधेरा लाग्थ्यो। घर–कार्यालय त के कुरा, उनी एकै दिनमा हिँडेर जिल्लाधरि काट्न सक्थे।
आखिर डेढ वर्षअघि त्यस्तो के भयो, जसले उनको जिन्दगीको गति नै थामिदियो?
अनिलको काम बिजुलीको तार तान्दै घर–घरमा उज्यालो छर्ने हो। उनी लाइन नपुगेको ठाउँमा तार बिछ्याउँछन्। बिजुलीको मिटर राख्छन्। र, एउटा घरबाट अर्को घरमा तार तान्छन्।
उनले यो काम थालेको चार वर्ष भयो। तर डेढ वर्षअघि एउटा यस्तो दुर्घटना भयो, जसले उनको जिन्दगीमा अँध्यारो छायो।
सिन्धुपाल्चोक लिशंखु पाखर गाउँपालिका–६ मा जन्मिएका अनिल घरका जेठा छोरा हुन्। उनका एक भाइ छन्। बुबा रामकृष्ण पहरी डकर्मी काम गर्छन्। आमा विन्दु घर सम्हाल्छिन्।
विन्दु उनलाई जन्म दिने आमा होइनन्। जन्म दिने आमाको त उनलाई अनुहारधरि याद छैन। उनी तीन–चार वर्षको हुँदा छाडेर गएकी थिइन्। त्यसपछि कहिल्यै भेट भएको छैन। छ वर्ष उमेरदेखि नै उनी कान्छी आमाको ममतामा हुर्किए।
अनिलले गाउँकै सेतीदेवी माध्यमिक विद्यालयमा ७ कक्षासम्म पढे। आठ कक्षा भर्ना हुनुपर्थ्यो; भएनन्।
स्कुल जाने समयमा दुई–चार पैसा कमाउन ज्याला मजदुरीतिर लागे। त्यति बेला उनी १५ वर्षका थिए।
'घरको दु:ख टुलुटुलु हेर्दै स्कुल गइरहन सकिनँ,' उनले भने, 'परिवारको आयस्रोत कम थियो। मकै र कोदो उब्जनीले चार–पाँच महिना पनि खान पुग्थेन। चार जनाको पेट भर्ने जिम्मेवारी बुबाको काँधमा थियो। त्यही भएर म पढ्नभन्दा कमाउनतिर लागेँ।'
किताबी ज्ञान नभए पनि जिन्दगीको हन्डरले उनलाई धेरै कुरा सिकाएको छ।
उनले सानै उमेरमा इँटा बोके, बारी खने। दाउरा काटे, पानी ओसारे। जे जे काम पाइन्छ, त्यो त्यो गरे।
यसरी महिनामा २०–२२ दिन मजदुरी गर्दा दुई–तीन हजार रूपैयाँ कमाइन्थ्यो। उनी दुई–चार सय आफू राखेर बाँकी बुबालाई दिन्थे।
'मैले कमाउन थालेपछि बुबालाई राहत भयो। भाइले पढ्न पायो,' यसो भन्दै गर्दा अनिलको मुहारमा खुसीको लहर दौडिएको प्रस्टै देखिन्थ्यो।
दुई वर्ष यसरी नै बित्यो।
२०७७ सालको कुरा हो। उनले गाउँकै दुई–तीन जना दाइको मद्दतले विद्युत प्राधिकरणमा सहयोगीको काम पाए। उनी तिनै दाइहरूलाई तार तान्न, बोक्न र खम्बा गाड्न मद्दत गर्थे। त्यति बेला उनको उमेर १७ वर्ष थियो।
उनी प्राधिकरणका तलबी कर्मचारी थिएनन्। हरेक दिन काम गरेबापत् तीन सय रूपैयाँ ज्याला पाउँथे। उमेर कम भए पनि ज्यान हट्टाकट्टा भएकाले उनलाई कामको दु:ख कहिल्यै भएन। महिनाको कम्तिमा २२ दिन त विद्युत प्राधिकरणको कुनै न कुनै काममा खटिएकै हुन्थे।
त्यति बेला सिन्धुपाल्चोकका सबै घरमा बिजुली पुगेको थिएन। लाइन विस्तारको काम धमाधम चल्दै थियो। त्यसले पनि खाली हात बस्नुपरेन।
उनी दाइहरूसँग मिलेर नयाँ ठाउँमा लाइन तान्ने काम गर्थे, पुरानो लाइन मर्मतसम्भार गर्न पनि जान्थे। कतिपय ठाउँमा पहिला गाडेको काठका खम्बा घामपानीले मक्किसकेका हुन्थे। त्यस्ता खम्बा फेरेर एउटा गाउँबाट अर्को गाउँसम्म बिजुली तार तान्ने, मिटर राख्ने कामले उनलाई भ्याइनभ्याइ हुन्थ्यो।
त्यसै क्रममा सिन्धुपाल्चोकको गाउँ गाउँ चहार्ने मौका पाएको उनी सम्झन्छन्।
'सहयोगी भएकाले होला, कुनै सामान छुट्यो भने दौडादौड लिन जाने जिम्मा मेरै हुन्थ्यो,' उनले भने, 'दुई–तीन घन्टा एकोहोरो दौडिन पनि केही लाग्दैनथ्यो।'
उनी गृहजिल्ला सिन्धुपाल्चोक मात्र घुमेनन्; काभ्रे, दोलखा र सिन्धुलीका धेरै ठाउँ पुगे। जहाँ जहाँ पुगे, त्यहाँका मान्छे उनलाई 'बत्तीको काम गर्ने अनिल' भनेर चिन्थे। उनको पेसा नै पहिचान बनेको थियो।
एक वर्ष ज्यालादारी गरेपछि उनी प्राधिकरणका करार कर्मचारी भए। उनले सिन्धुपाल्चोकको लिशंखु पाखर गाउँपालिकाकै विद्युतीय सब–स्टेसनमा काम पाए। त्यस निम्ति उनलाई मिटर जडान, मिटर जाँज, जोखिम र सुरक्षाबारे एक महिनाको तालिम दिइएको थियो। तालिम सकेलगत्तै उनी महिनाको १६ हजार रूपैयाँ तलब पाउने गरी करारमा जागिरे भएका थिए।
'मेरो लागि त्यो लाख बराबर थियो,' उनले भने, 'त्यतिले मेरो घरखर्च मज्जाले पुग्थ्यो।'
पूर्णकालीन कर्मचारी भएपछि उनको आय मात्र बढेन, जिम्मेवारी पनि थपियो। गाउँमा जहाँ जहाँ लाइन बिग्रिन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्नुपर्थ्यो। गाउँघरमा विद्युतीय तार रूखले छुने, हुरीबतासले चुँडाल्ने समस्या धेरै हुन्थ्यो। नयाँ मिटर राख्नुपरे पनि गाउँका मान्छे उनैलाई सम्झिन्थे।
जिन्दगीले लय समात्दै थियो। दु:खका दिन हराउँदै थिए। उज्यालो छाउँदै थियो।
त्यही बेला उनले भेटे, प्रमिलालाई।
साथीहरूका माध्यमबाट भेट भएको रामेछापकी प्रमिलासँग उनको मनमुटु जोडियो। तीन–चार महिना कुरा गरेपछि एकदिन उनले प्रमिलालाई भगाए।
परिवारको सहमतिबेगर भागेर बिहे गरे पनि कष्ट केही भएन। दुवैतर्फको परिवार राजीखुसी नै थिए। पछि पारिवारिक समारोह पनि भयो। अनिलले मन्दिरमा लगेर प्रमिलालाई सिन्दुरपोते लगाइदिए।
'प्रमिलासँग बिहे गरेको खुसी आज पनि मेरो मनमा ताजै छ,' उनले भने, 'बिहे गरेको चार–पाँच महिनापछि आमाले हामीलाई छुट्टै बस्न भन्नुभयो। प्रमिला पनि ज्याला मजदुरी गरेर कमाउने भएकीले छुट्टै बस्न डर लागेन। हामी दुई जनाको कमाइले दुई छाक टार्न पुगिहाल्थ्यो।'
विवाहपछि पनि अनिल भ्याएसम्म काम गर्थे। जिल्लाभित्र जहाँ काम गरे पनि साँझ फर्केर घरै आउँथे। उनलाई उकाली–ओराली गर्न केही बेर मात्र लाग्थ्यो। अरूलाई दुई–तीन घन्टा लाग्ने बाटो एक–डेढ घन्टामै पुगिदिन्थे। प्रमिला पनि गाउँघरतिर मेलापात गइरहन्थिन्।
विवाह भएको तीन–चार महिनापछि प्रमिला गर्भवती भइन्। सन्तान हुर्काउने जिम्मेवारीले उनीहरूलाई अझ परिपक्व बनाउँदै लग्यो।
त्यही बेला सोच्दै नसोचेको घटनाले अनिल र प्रमिलाको जिन्दगी मोडियो।
त्यो दिन उनीहरू चाहेर पनि बिर्सन सक्दैनन् — २०८० पुस ३ गते।
अनिल सधैंझैं खाना खाएर घरबाट निस्किएका थिए।
कार्यालय पुगेर को कहाँ जाने छलफल भयो। सुपरभाइजर सविन पाठक र अनिलले लिशंखु पाखर गाउँपालिकाको १७ किलो भन्ने ठाउँमा बिजुली खम्बा सार्न जाने निधो गरे।
'एक जना स्थानीयले घरैअगाडि खम्बा भएकाले डरै डरमा बाँच्नुपरेको गुनासो गरिरहेका थिए,' उनले भने, 'पहिला उनकै घर गएर खम्बा सार्ने निधो गर्यौं।'
सविन र अनिल दिउँसो १ बजेतिर कार्यालयबाट निस्किए।
खम्बा सार्नुअघि घरमा तानिएका तार निकाल्नुपर्थ्यो। त्यसका लागि अनिल खम्बामा चढे र कनेक्सनहरू छुट्याउँदै तार तान्न थाले।
उनी खम्बामा चढेको १०–१५ मिनेट पनि भएको थिएन।
त्यही बेला तार तान्दा तान्दै अनिललाई भुइँचालो गएझैं जमिन थरर्ररर हल्लिएको भान भयो। के भयो भन्ने मेसो नपाउँदै उनी चढेको खम्बा फेदबाटै भाँचियो।
अनिल खम्बासहित गर्ल्यामगुर्लुम भुइँमा ढले।
उनलाई त्यही खम्बाले थिच्यो।
टाउको, ढाड र खुट्टाबाट भलभल रगत बग्न थाल्यो।
रक्तमुच्छेल अवस्थामै उनको आँखाअगाडि अँध्यारो छायो।
त्यसपछि के भयो, अनिललाई होस छैन।
होसमा आउँदा उनी खाडीचौर अस्पतालमा थिए।
'म बेहोस भएपछि सुपरभाइजर सविनले आसपासका मान्छे डाकेर अस्पताल लगेछन्,' उनले भने, 'त्यहाँ मेरो पूरा उपचार हुन सकेन। डाक्टरहरूले काठमाडौं जान सल्लाह दिए।'
उनलाई खाडीचौरबाट काठमाडौंको हेम्स अस्पताल ल्याइयो। परीक्षण गर्दा थाहा भयो — बायाँ खुट्टाको घुँडाभन्दा मुनिका सबै हड्डी भाँचिएका रहेछन्।
'नौ मिटर अग्लो खम्बाबाट खसेको थिएँ, त्यही खम्बाले थिचेर हड्डी झर्यापझुरूप नै भएछ,' उनले भने।
अनिल १८ दिन अस्पताल बसे। शरीरका अन्य चोटपटक निको हुँदै गए। खुट्टा निको हुन लामो समय लाग्यो।
झन्डै आठ महिनापछि मात्र उनी अलि अलि हिँड्नसक्ने भए। राम्रोसँग हिँड्न एक वर्ष नै कुर्नुपर्यो। यसबीच उपचारमै ७ लाख रूपैयाँ खर्च भयो। सविनले तीन लाख रूपैयाँ दिए, बाँकी अरू ठाउँबाट ऋण खोजे।
संयोग भनूँ कि नियति, जुन दिन अनिल दुर्घटनामा परे, त्यसको भोलिपल्टै प्रमिला सुत्केरी भइन्। यता अनिल हेम्स अस्पतालमा छटपटाइरहँदा प्रमिला खाडीचौर अस्पतालमा चिच्याउँदै थिइन्।
सबै सामान्य भइदिएको भए छोरीको आगमनले उनीहरूको जिन्दगीमा कति उज्यालो छाउँथ्यो होला!
विडम्बना, अनिल र प्रमिला जिन्दगीको यति ठूलो खुसीको मौकामा आ–आफ्नो कष्टसँग एक्लाएक्लै जुध्न बाध्य थिए!
जिन्दगीमा उज्यालो छरिनुपर्ने बेला अँध्यारो छाएको थियो!
अनिलले छोरी जन्मिएको २०–२२ दिनपछि मात्र मुख देख्न पाए।
समयसँगै छोरी हुर्किँदै गइन्। अनिलको खुट्टा बिस्तारै निको हुँदै गयो। तैपनि एक वर्षसम्म उनी काममा जान सकेनन्।
धन्न, दुर्घटनामा परेर घरै बसेको अवधिभर उनले तलब पाइरहे। तलब पाए पनि उपचार खर्च नपाएको उनको गुनासो छ।
विद्युत प्राधिकरणकी सहायक निर्देशक निर्मला पनेरूका अनुसार स्थायी/अस्थायी कर्मचारीहरूको दुर्घटना बिमा गरिएको हुन्छ। काम गर्दा गर्दै दुर्घटनामा परे बिमाले नै उपचार खर्च बेहोर्छ।
'करार कर्मचारीका हकमा बिमा गर्ने कि नगर्ने कम्पनीमै भर पर्छ,' उनले भनिन्, 'अनिललाई कम्पनीमार्फत् राखिएकाले उनको जिम्मा कम्पनीले नै लिनुपर्छ।'
अनिललाई सिन्धुपाल्चोकको स्थानीय कम्पनीले करारमा राखेकाले विस्तृत जानकारी आफूलाई नभएको पनेरू बताउँछिन्।
अनिलले पनि आफ्नो उपचार खर्चबारे कसैसँग सोधपुछ गरेका छैनन्।
छ–सात महिना घर बसेपछि उनी कार्यालय जान थालेका थिए। दिनहुँ आउजाउ गर्न समस्या देखेर कम्पनीले कार्यालयमै बस्ने कोठा दिएको थियो। उनको काम बत्तीको स्वीच अन–अफ गर्नु थियो।
तर डेढ महिनाअघि उनलाई सुनकोसी गाउँपालिकामा पर्ने अर्को कार्यालयमा सरूवा गरियो। नयाँ ठाउँमा उनलाई बस्ने कोठा दिइएको छैन। उनी सकी–नसकी घरैबाट आउजाउ गर्न बाध्य छन्।
'जागिर जोगाउन ज्यानले नसके पनि हिँड्नुपरेको छ,' उनले भने, 'अरूको घर उज्यालो बनाउन खोज्दा मेरो जिन्दगीमा अँध्यारो छायो।'
उनी आफूले भोग्नुपरेको कष्टको दोष कसैलाई दिँदैनन्। भाग्यमै खोट भएको भन्दै दु:खेसो पोख्छन्। कहिलेकाहीँ जागिर छाडूँ कि भन्ने सोच मनमा आउँछ, तर अन्त काम नपाइने डरले मन मारेर बस्छन्। र, सकी–नसकी खटिरहन्छन्।
दुर्घटनामा पर्नुअघि उनी र उनकी पत्नी प्रमिलाले विदेश जाने सपना बुनेका थिए। अहिले त यो सपना पनि मारिसके।
'धेरै बेर उभिरहन सक्दिनँ। भारी बोक्न सक्दिनँ। विदेश गए पनि के काम पाइएला र?' अनिलले भावुक हुँदै भने, 'मेरो जिन्दगी त अँध्यारोमै बित्ने भो!'
आफ्नो जिन्दगी अँध्यारोमा बिते पनि घरपरिवारमा अन्धकार नसरोस् भन्नेमा उनी सजग छन्। प्रमिलाले वैदेशिक रोजगारीमा जाने मन बनाएकी छन्। उनी प्रमिलाको इच्छामा सहमत छन्।
विद्युत प्राधिकरणमा अनिलजस्तै दुर्घटनामा परेर शारीरिक अपांगता भएका व्यक्ति थुप्रै छन्। प्राधिकरणको तथ्यांकअनुसार २०७४ देखि २०८१ फागुनसम्म ४२४ जना घाइते भएका छन्। यही अवधिमा ३१२ जनाले ज्यान गुमाएका छन्।
गत शनिबार काभ्रेपलाञ्चोकमा यस्तै घटना भयो। धुलिखेल बसपार्कदेखि सरस्वती बजारसम्म ११ केभी विद्युत लाइनको काम भइरहँदा सर्लाहीका २८ वर्षीय उपेश परियारको करेन्ट लागेर मृत्यु भयो। खम्बामा चढेर काम गर्दा गर्दै ज्यान गुमाउने परियार सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका हुन्।
यस्तो घटना सुन्दा तपाईंलाई कस्तो लाग्छ?
जबाफमा अनिलले भने, 'काम गर्न डर लाग्छ, अरू त केही लाग्दैन। हाम्रो कामै यस्तै छ। धेरै–थोरै जोखिम नभएको काम त के हुन्छ र? यस्तो घटनामा पर्ने व्यक्ति र उसको परिवारको जिन्दगी भने अन्धकार हुन्छ। मेरो घटनामा पनि तीन जनाको भविष्य अन्धकार भयो।'
'परिवारले मलाई घरको खम्बा मानेको थियो। त्यही खम्बाले थिचेर म परिवारलाई थाम्न नसक्ने भएँ,' अनिलले दु:खी हुँदै प्रश्न गरे —
'सबैको जिन्दगीमा उज्यालो ल्याउने बिजुलीले मेरो जिन्दगीमा चाहिँ किन अँध्यारो ल्यायो होला हँ?'
***