त्यस बेला देवी घर्ती र राजु ढकाल सांगीतिक क्षेत्रमा लाग्ने भनेर काठमाडौं आएको भर्खर–भर्खर थियो। यहाँ आएको छोटो समयमै उनीहरूले दोहोरी साँझ घन्काउन थालिसकेका थिए।
यी दुई एउटै दोहोरी साँझमा गाउँथे। गाउने क्रममा एकअर्कालाई दोहोरी फर्काउँथे। त्यही क्रममा उनीहरू नजानिँदो तरिकाले निकट भए र नजिकिएको तीन वर्षपछि एकअर्कालाई जीवनसाथी बनाए।
अहिले यो जोडीले सँगसँगै जिन्दगी बिताएको १७ वर्ष पूरा भएको छ। उनीहरूको एक १४ वर्षीय छोरा छन्।
यहाँसम्म आउँदा देवी र राजु दुवै लोक तथा दोहोरी गीत गायनमा स्थापित छन्। देवीले सात हजार हाराहारी गीतमा स्वर दिएकी छन्। तीन सयभन्दा बढी गीतमा राजुको स्वर गुञ्जिएको छ। केही गीत सँगसँगै पनि गाएका छन्।
हालसालै पनि उनीहरूले 'झलीको झलल' बोलको गीत सार्वजनिक गरेका छन्, जसले छोटो समयमै युट्युबमा २३ लाखभन्दा बढी भ्युज पाइसकेको छ। लाखौं टिकटक भिडिओ बनेका छन्।
यो गीतले माया पाइरहँदा हामीले हालैको एक मध्याह्न देवी र राजुलाई भिडिओ कुराकानीका लागि सेतोपाटी स्टुडिओ निम्त्याएका थियौं। त्यस क्रममा उनीहरूसँग संगीतदेखि एकअर्कासँगको निकटता, विवाह र यहाँसम्मको यात्राको कुरा गरेका छौं।
श्रीमान र श्रीमती एउटै क्षेत्रमा हुँदा फाइदा, बेफाइदा के हुने रहेछ?
सुरूआततिरै यो प्रश्नको जबाफमा देवीले भनिन् 'बेफाइदा त खासै छैन होला!'
यसमा राजुले थपिहाले, 'फाइदै फाइदा छ। एउटै क्षेत्रमा भएपछि सबै कुराहरू बुझिन्छ। कामबारे एकअर्कालाई बुझाइराख्न पर्दैन। मैले केही कुरा भोगिराखेको छु भने उसले पनि त्यही भोगिराखेको होला भन्ने बुझिन्छ। यसले दाम्पत्य जीवनलाई पनि सहज बनाउँछ।'
बागलुङमा जन्मिएकी देवीको पारिवारिक माहोल नै संगीतमय थियो।
'आमाबुबा दोहोरी गाएर बिहे गर्नुभएको रे!,' देवीले भनिन्, 'दाइ गाउने, भाउजू पनि गाउने। बहिनी पनि गाउने। परिवारमा सबै गाउनु हुन्थ्यो।'
देवी दाइसँग मिलेर दोहोरी प्रतियोगितामा समेत हिँड्थिन्। घाँसदाउरा गर्न जाँदा वनपाखा थर्काउँदै गुनगुनाउँथिन्। रेडियोको प्रभाव पनि ज्यादा भएकाले त्यसमा बज्ने अग्रजका गीतहरू खुबै सुन्थिन्, त्यस्तै गायक बन्छु भन्ने सपना बुन्थिन्।
त्यही सपनाका खातिर उनले एकदिन निधो गरिन् — गायक बन्ने हो भने अब काठमाडौं जानुपर्छ।
त्यही सपना देखेर उनले पढाइ छाडिन्। तर परिवारलाई मनाएर काठमाडौं आउनै चार वर्ष लाग्यो।

यता, तनहुँमा जन्मिएका राजुको पारिवारिक माहोल पनि देवीको भन्दा फरक थिएन।
उनले सम्झिँदै भने, 'आमा एकदमै राम्रो दोहोरी गाउनु हुन्थ्यो। पूजाआजा, रत्यौलीमा एकदमै गाउने, नाच्ने गर्नु हुन्थ्यो। बुबा एकदमै राम्रो भजन गाउनु हुन्छ। आमाबुबाले गाएको देखेर, सुनेर पनि आकर्षित भएको हुँला। पछि बुबाले भजन गाउँदा म नाच्थेँ। कति ठाउँमा आमाछोरा दोहोरी पनि गाइन्थ्यो।'
उनी पनि आफूमा रेडियोमा बज्ने गीतको पनि ज्यादा प्रभाव रहेको बताउँछन्।
एसएलसीपछि क्याम्पस पढ्ने र गाउने सपना बोकेर राजु काठमाडौं आए। तर यहाँ आएपछि गीतसंगीततिरै रस पस्यो।
राजु २०५७ सालमा काठमाडौं आएका थिए भने देवी २०६१ सालमा। त्यस बेला काठमाडौंमा दोहोरी साँझको लहर थियो। राम्रो गाउनेलाई काम पाउन गाह्रो थिएन।
कतिसम्म भने, राम्रो गाउने गाउँबाट आएको छ भन्ने थाहा पाएपछि दोहोरी साँझ साहुहरूबीच खोसाखोस नै चल्थ्यो। देवी र राजुको स्वरमा त्यस्तै जादू थियो। त्यसैले पनि उनीहरूले आउनेबित्तिकै दोहोरी साँझमा काम पाइहाले।
देवीको सन्दर्भमा उनको स्वरबाट प्रभावित भएर अर्को दोहोरी साँझमा लगिएकोदेखि गाउने क्रममा स्वर सुनेर त्यहीँ गीतको प्रस्ताव पुगेको किस्सा आफैमा रोचक छन्।
पहिलो —
अग्रज लोक गायक खड्ग गर्बुजा देवीले गाउने दोहोरी साँझमा पुगिरहन्थे। एकदिन गाउँदै गरेकी देवीको स्वर सुनेर उनी प्रभावित भए। नयाँ एल्बमको तयारीमा रहेका खड्गले देवीलाई गायनका लागि प्रस्ताव गरे। उनले घरमै लगेर देवीलाई भाका सिकाए। तीन दिन सिकेपछि देवीले गाइन्, 'बतासले रूमाल फरर...।'
त्यही देवीको पहिलो गीत थियो।
दोस्रो —
पहिले राजु र देवी फरक–फरक दोहोरी साँझमा काम गर्थे। एक दिन राजुले गाउने गण्डकी दोहोरी साँझका साहुजी देवीले गाउने काठमाडौं दोहोरी साँझ पुगेका रहेछन्। देवीले गाएको सुनेपछि साहुलाई असाध्यै मन परेछ।
आफ्नो दोहोरी साँझमा आएर कुरा गरेछन्, 'त्यहाँ मीठो स्वर भएकी केटी छ। उसलाई यहाँ ल्याउनुपर्यो।'
राजुले नै देवीलाई आफूले गाउने दोहोरी साँझमा ल्याउने व्यवस्था मिलाए। त्यहीँ उनीहरू निकट भए।
यसरी दोहोरीमा जमेकी देवीका 'बिर्सियौ कि कुन्नी', 'मायाले मन छुन्छ', 'फूलमा माहुरी डुल्ने बेलामा', 'हाँस्न सिकायौं', 'जिम्मल बा’को आँगनीमा', 'यही चाल होला भन्या’भा', 'उही खोलीमा पानी' जस्ता गीत निकै रूचाइएका छन्। यी केही वर्ष पहिलेका गीतहरू हुन्। पछिल्ला वर्ष पनि उनका 'बदला बरिलै', 'माया आउने बस', 'दुःख साटम्ला', 'मयाली' लगायत चर्चामा छन्।
कुनै समय त देवी रेकर्डिङमा यतिसम्म व्यस्त भइन्, दिनमै ८ वटासम्म गीत गाउँथिन्।
पछिल्ला वर्ष पनि उनले दैनिकजसो गीत रेकर्ड गराइरहेकी छन्। स्टेज कार्यक्रममा पनि उत्तिकै खोजिने कलाकार हुन्। तर देवी गाडीको यात्रा निकै गाह्रो मान्छिन्। 'गाडी लाग्ने' समस्याले उनले कयौं कार्यक्रम अस्वीकार गरेकी छन्। रेकर्डिङमा जाँदा समेत सकेसम्म आफ्नो बसाइ रहेको सामाखुसीबाट हिँडेरै पुग्छिन्।
उनले भनिन्, 'समय भएसम्म हिँडछु। हिँडन मज्जा पनि लाग्छ। नख्खिपोटबाट सामाखुसी त हिँडेरै पुगेकी छु। बबरमहल, अनामनगर, पुतलीसडकदेखि सामाखुसी आउजाउ त सामान्य भइसक्यो।'
राजुको सन्दर्भमा उनका गीतहरू संख्यात्मक रूपमा धेरै नभए पनि थुप्रै रूचाइएका छन्। त्यसमध्ये उनले देवीसँग गाएकै गीतको कुरा गर्दा 'वर्षदिन भो', 'बिहे गरेर हो', 'लौरी हरायो', 'दुई बिसेले छोयो' देखि अहिले 'खोली सलल' सम्मले युट्युबमा लाखौं भ्युज पाएका छन्। राजु पनि देश विदेशका स्टेज कार्यक्रममा उत्तिकै खोजिन्छन्।
राजु र देवीको जोडीका गीतहरू मात्रै होइन, यो जोडीले बनाउने टिकटक भिडिओ पनि दर्शकले उत्तिकै रूचाउँछन्।
देवीको अर्को विशेषता भनेको उनको बोली हो जसको धेरैले चर्चा गर्छन्। उनले दिएका अन्तर्वार्ताहरू हेर्दा पनि उनको सरलता र मौलिकपन दर्शकले रूचाएका छन्।
राजु पनि आफ्नोपन छाड्न नहुनेमा जोड दिन्छन्।
देवी र राजु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत आवद्ध छन्।
यो जोडीले काठमाडौंमा केही वर्ष अगाडि रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेको थियो। तर त्यसमा उनीहरू सफल भएनन्। ५० लाख रूपैयाँभन्दा बढी डुबेको उनीहरूले बताए।
यो भिडिओ कुराकानीमा उनीहरूले व्यवसाय असफल भएको कारण, टिकटक भिडिओ बनाउँदाका अनुभवदेखि एकअर्का आनीबानी, आगामी योजना लगायत थुप्रै विषयमा कुराकानी गरेका छन्।
हेर्नुहोस् देवी घर्ती र राजु ढकालसँगको भिडिओ कुराकानी–