यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
चितवन, भरतपुर अस्पतालनजिकै ठेलामा मकै पोल्दै थिइन् सन्ध्या चौधरी। रातो कुर्ता लगाएकी उनका हातभरि चुरा थिए। चप्पल भने चुँडिएछ, चिसो माटोमा खाली खुट्टा उभिएकी थिइन्।
त्यहीँ नजिकै सुन्तला बेच्न बसेका एक पुरूषले उनलाई जिस्क्याए। सन्ध्यालाई मनपरेन। तर केही नभनी चुपचाप पंखाले दाउरा-कोइला हम्किरहिन्।
फेरि एक रिक्सा चालकले उनलाई सुस्केरा हाल्दै जिस्क्याए। सन्ध्याको अनुहार रिसले रातो भयो। उनले कानमा अडिएको निलो मास्क तानेर नाकमुख ढाकिन् र मकै ओल्टाइपल्टाइ पार्न थालिन्।
कुरिरहेका ग्राहक मकै लिएर हिँडे।
अनि उनले भनिन्, 'यिनीहरू मलाई जहिल्यै जिस्क्याउँछन्। नराम्रो नजरले हेर्छन्। मैले अरू नै काम गर्छु भन्ठान्छन्।'
एकछिन चुप्प लागिन् र फेरि भनिन्, 'पारलैंगिक मान्छे अरूको यौन प्यास मेटाउने मात्र हुन् भन्नेजस्तो सोच्छन् केही मान्छे। कोहीकोहीले बाध्यता वा रहरले यौन पेसा नै गरेका होलान्। तर सबै पारलैंगिकले त्यही गर्छन् वा त्यही गर्ने हुन् भन्ने त हुँदैन। यसरी मकै पोलेर पनि खान सक्छन् नि!'
उनलाई थाहा छ, उनीमाथि दुर्व्यवहार र अन्याय भइरहेको छ। तर लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई सहयोग र समर्थन विरलै मिल्ने उनी बताउँछिन्। सन्ध्या मकै पोलेर बस्ने ठाउँ जिल्ला अदालतको ठ्याक्कै पछाडि पर्छ। उनका अनुसार न्यायालयमा बस्ने केही व्यक्तिले नै सकारात्मक व्यवहार गर्दैनन्। त्यसैले आफूलाई जिस्क्याउँदै हिँड्नेलाई कारवाही होला भन्ने आश गर्दिनन्।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/sandhya%20%281%29.jpg)
'म इज्जतले, आफ्नै मेहनतले काम गरेर बाँचिरहेकी छु,' मास्क तल तान्दै उनले अगाडि भनिन्, 'तर मान्छेहरू पारलैंगिक भनेर हेप्न र चेप्न खोज्छन्। कतिले त हप्काए, कुटे। शारीरिक सम्बन्ध राख्ने भन्दै पनि आउँछन्।'
उनी आफ्नो पीडाको पोको खोल्दै थिइन्, उनका श्रीमान आइपुगे।
हामीले उनको कथा सुरूदेखि सुन्यौं।
सुनसरीको इटहरीमा परिवारका जेठा छोराको रूपमा जन्म भएको थियो उनको। किशोर उमेर भइसक्दा उनलाई आफ्ना उमेरका अरू केटाभन्दा आफू फरक छु भन्ने अनुभूति भइसकेको थियो। केटीका पहिरन लगाउन रहर हुन्थ्यो। मन र मस्तिष्कले पनि पनि आफूलाई केटीजस्तै सोच्न थाले।
यौनिक तथा अल्पसंख्यक समुदायबारे अलिअलि बुझेका थिए। आफ्नो वास्तविक पहिचान खुट्याउन धेरै मुश्किल भएन। परिवारले पनि उनको पहिचान पनि स्वीकार गर्यो।
सन्ध्या घरकी जेठी छोरी भइन्।
परिवारबाहिर भने पारलैंगिक महिलाका रूपमा चिनिन उनलाई कठिन भयो। समाज उनले रोजेको लैंगिकता स्वीकार गर्न चाहँदैन थियो। उनलाई दुरदुर गर्न थाल्यो। स्कुलमा पनि हेप्न र गिज्याउन थाले। दिनहुँको अपमान खेप्न नसकेपछि सन्ध्या स्कुज जान छाडिन्।
परिवारको आर्थिक अवस्था पनि कमजोर थियो। जेठो सन्तान भएकाले जिम्मेवारी काँधमा आइहाल्यो। भाइबहिनीको पढाइलेखाइ खर्च पनि जुटाउनु थियो। त्यही क्रममा उनी निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को इटहरी शाखामा काम गर्न थालिन्।
योसँगै उनी नाचगानको काममा सक्रिय भइन्। कमाइ राम्रो हुने भएकाले भएकाले उनी बिहे तथा उत्सवहरूमा अरू पारलैंगिक महिलाहरूसँगै नाच्न वीरगञ्जसम्म जान थालिन्। यही क्रममा उनको भेट भयो कृष्ण कनहैयासँग।
कृष्ण पर्सामा नृत्य कार्यक्रम गराउँथे। उनी लैंगिक तथा अल्पसंख्य समुदायका होइनन्। सन्ध्या र उनको चिनजान भयो, निकटता बढ्यो। दुःखसुख साटासाट भयो। एकअर्कालाई बुझ्न थालेपछि दुईबीच प्रेम फक्रियो। अनि उनीहरूले बिहे गरे।
‘दिल लाग्यो, प्रेम भयो, बिहे गर्यौं, हामीखुसी छौं,' सन्ध्याको छेउमा उभिएर मकैको खोस्टा निकाल्दै कृष्णले भने, 'उनी मेरो पहिलो प्रेम हो। अरूभन्दा फरक अनि मायालु छिन्। सबैलाई सम्मानजनक व्यवहार गर्छिन्। त्यसैले उनको धेरै माया लाग्छ मलाई।
कृष्णले यसो भन्दै गर्दा सन्ध्या मुस्काइरहेकी थिइन्।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/sandhya%20%283%29.jpg)
उनलाई हेर्दै कृष्णले थपे, ‘पारलैंगिक व्यक्तिलाई बिहे गर्नु नराम्रो कुरा हुँदै होइन। नराम्रो हो भन्ने सोच हामीले बदल्नुपर्छ हामीले। उनीहरूको मन पो हेर्ने हो त।'
कृष्णका अनुसार उनीहरूको बिहे भएको आठ वर्ष भयो। घरपरिवारले पनि सन्ध्यालाई स्वीकार गरेको छ।
बिहेपछि केही वर्ष उनीहरू घरमै बसेका थिए। नृत्युले आफूहरूलाई जोडे पनि सन्ध्याले बिहेपछि नाच्ने काम छाडिन्। घरै बसेर कमाइ गर्न त मुश्किल थियो। त्यसैले उनले कृष्णलाई चितवन गएर केही काम गर्ने कुरा सुनाइन्। सन्ध्या निलहिरा समाजमा काम गर्दा चितवन आइपुगेकी थिइन्।
'हामी दुई केही न केही गरौंला भनेर आयौं,' सन्ध्याले भनिन्, 'दुई जना सँगै भएपछि त ठूलो अप्ठ्यारो पनि पार गर्न सकिन्छ।'
चितवन आएर सुरूमा उनीहरूले मजदुरी गरे। कोठाभाडा, रासनपानी र अरू घरखर्च जोहो हुन्थ्यो। कोरोना महामारीका बेला मजुदरी ठप्पै भयो। लकडाउन हलुका भएपछि सन्ध्या मकै पोल्न थालिन्। पछि कृष्णले पनि मकैको ठेक्का गर्न थाले। उनीहरूको दैनिकी सहज भयो।
सन्ध्या मकै पोलेरै दिनमा पाँच-सात सय कमाउँछिन्। सहज वातावरण भइदिए अझै राम्रो हुन्थ्यो भन्छिन् ।
'मलाई देखेर महानगर प्रहरी ठेला खोस्न आइपुग्छन्। एकपटक त मलाई पनि लिएर गए,' सन्ध्याले भनिन्।
कृष्णले प्रहरीलाई आग्रह गरेर सन्ध्यालाई फर्काए। ठेला भने पाएनन्।
'ठेला त खोसेर लगिसके, महानगरका प्रहरी अहिले पनि आउँछन् र सन्ध्या दाइ भन्दै गिज्याउँछन्। हिजडा भन्दै अरू अपशब्द बोल्छन्,' उनले सुनाइन्, 'पोलिराखेको मकै सित्तैमा खाइदिन्छन्। मसँगै ठेला राखेका मान्छेलाई केही भन्दैनन्। मलाई भने नराख भन्दै हप्काउँछन्। झम्टिन आउँछन्।'
कृष्ण सँगै भएका बेला भने जिस्क्याउँदैनन्। त्यसैले सन्ध्यालाई कृष्ण हुँदा अलि ढुक्क लाग्छ।
सन्ध्याको नागरिकता प्रमाणपत्र पनि बनाएको छैन। कृष्णलाई उनको पहिचानसहितको नागरिकता बनाउन मन छ।
'स्थानीय सरकारले सहयोग नगर्ने डरले अझैसम्म अल्झिरहेको छु,' उनले भने, ‘बुढीले रोजेको पहिचानसहितको नागरिकता बनाइदिन मन छ।'
घरमा यी बुढाबुढीबाहेक केटाकेटी पनि छन्। कृष्णका भाइ र दिदीका छोराछोरीलाई आफूसँगै राखेर पढाउँदै छन् उनीहरूले। एकै परिवारका आमाबाबु र छोराछोरीजस्तो भएर बसेका छन्।
भन्छन्, 'हामी परिवार भएर बसेका छौं। खुसी लाग्छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/sandhya%20%282%29.jpg)