कविता-
म,
सधैं पछ्याउँथेँ
पँधेरो जाँदा
मेला जाँदा
फरियाको फेर समाएर पछ्याउँथेँ
एकदिन,
आमा गाग्रीमा पानी भर्दै हुनुहुन्थ्यो,
मैले पुच्छर भएका माछा देखेँ
म जस्तै रमाइरहेका थिए,
आमा! पुच्छर भएका माछा
यी माछा हैनन्, चेपागाँडा हुन्
त्यो भनेको?
भ्यागुताका बच्चा
यिनका आमा खै त?
गै, पर गै
यिनीहरूले पछ्याएनन्?
ज्ञानी छन् यी चेपागाँडा
कहिले फर्किन्छे?
फर्किन्न अब फेरि
मलाई डर लाग्यो,
आमाको फरियाको फेर दरो गरि समाएँ ,
कतै म पँधेरैमा एक्लै परे भने।
आमा! यिन्को त् पुच्छर छ त,
यी समय सँगै फेरिन्छन्,
पछि भ्यागुता बन्छन्।
म जन्मँदा मेरो पनि पुच्छर थियो?
थिएन, तिमी म जस्तै थियौ,
तर एकदमै सानो,
बोल्दैनथ्यौ, हिँड्दैनथ्यौ|
मैले मेरो हात हेरेँ
आमाको हात हेरेँ
उस्तै लाग्यो, तर साँच्चै साना।
हजुरले ढाँटेको हो?
हैन, परिवर्तन सत्य हो।
अहिले सोच्छु-
पँधेरो फेरियो,
आमा जानुभयो,
म फेरिएँ,
अनि फेरि सोच्छु
यहाँ नफेरिने के छ र?
आखिर-
संसार चेपागाँडा रहेछ।
संसार चेपागाँडा रहेछ।