जेठको गर्मी बिदा पनि सकिन लागिसकेको थियो। गाउँमा मकैको गोडमेल सकेर अब काठमाडौँ फर्किने तयारीमा थिएँ म। तर मन त झन्-झन् भारी हुँदै गइरहेको थियो। भोलिपल्ट फर्किनु पर्ने भएकाले त्यो दिनभरि भेटघाट गर्न गाउँ डुलेँ। राति सुत्न घर फर्किएँ तर मलाई निद्रा लागेन। मन केही भारी भइरह्यो।
भोलिपल्ट बिहानै बुवाले जिप बोलाइदिनु भयो। घरअगाडि जिप आएर रोकियो। मम्मीले निधारमा टीका लगाइदिनु भयो। आँखा भने रसाइरहेका थिए।
बुवाले खल्तीबाट खर्च निकालेर हातमा राख्दै भन्नुभयो, ‘ज्यानको ख्याल राख्नू, धेरै टेन्सन नलिनू! अझै सानै छस्।’
छोरो भने संसार अँगाल्न हिँडेको थियो। आमा-बुबाको नजरमा छोराछोरी सधैँ साना हुँदा रहेछन्। बुवाआमाको ती शब्दहरूमा माया थियो, आशीर्वाद थियो।
त्यही सम्झना मनभित्र बोकेर घरबाट बुटवल आइपुगेँ। बुटवलको गर्मी अत्यन्तै धेरै थियो। जनतन त्यो दिन बुटवलमै बास बसेँ। अर्को दिन बिहानै बसपार्क पुगेँ। केही बेर बसेको मात्र थिएँ, सहचालक ठुलो स्वरमा कराउँदै आयो, ‘काठमाडौँ, काठमाडौँ! जाने हो दाइ काठमाडौँ?’
म त्यतैतिर लागेँ। झ्यालतर्फको सिट माग्दा सिधै अस्वीकार गर्यो। फेरि उता झर्किँदै जवाफ आयो, ‘१५०० देऊ!’ जनतन ११०० मा कुरा मिल्यो।
बस चढ्दा शरीर पहिले नै पसिनाले भिजिसकेको थियो। बसभित्र बजिरहेको दोहोरीले भने केही माहौल बनाइरहेकै थियो।
त्यतिकैमा मेरो आँखा मात्र के लागेको थियो बस हुत्तिँदा बसको माथिल्लो भागमा टाउको ठोक्कियो— झन्डै फुट्ने जस्तो भयो।
त्यो शान्त वातावरणलाई छिचोल्दै मेरो छेउमा बस्नु भएका बुढा बाले मेरो परिचय खोतल्नु भयो— ‘भाइको नाम?’
मैले भनेँ, ‘अमृत बेल्बासे।’
‘नाम त धेरै मिठो रहेछ नि! कोले राखिदिएको?’
मैले मुस्कुराउँदै भनेँ— ‘ममीले।’
फेरि उहाँ भन्दै हुनुहुन्थ्यो— ‘अमृत भनेको त शुद्ध जल हो नि! तिमी पनि त्यस्तै शुद्ध होला नि। के रक्सी, चुरोट खान्छौ?’
मैले मुस्कुराउँदै भनेँ, ‘होइन बा, केही पनि खाँदिनँ।’
त्यसपछि मैले पनि उहाँको नाम सोधेँ।
‘घनश्याम पौडेल,’ भन्नुभयो, ‘घर गुल्मी। २०४६ सालतिर प्रधान पञ्च थिएँ म!’
फेरि मलाई सोध्नुभयो— ‘भाइको बिहे भयो?’
मैले हाँस्दै भनेँ— ‘अहिलेसम्म त हैन बा!’
‘ए हो र? अब चाँडै गर्नुपर्छ है बाबु!’
उहाँको मायालु हाँसोले एकछिन सबै थकान भुलियो।
बस गुडिरह्यो— मधेसको गर्मी, मुग्लिनका अप्ठ्यारा बाटाहरू, काट्दै बस बल्ल धादिङ हुँदै काठमाडौँ पस्दै थियो। थानकोट हुँदै कलंकी पुग्दा रातको ९ बजिसकेको थियो।
पठाओबाट काठमाडौँको चिसो हावा खाँदै करिब साढे नौ बजे तिर बानेश्वरमा रहेको कोठासम्म पुगेँ। कोठा सुनसान थियो तर त्यहाँ मेरा लाखौँ सपना थिए।
घरमा फोन गरेँ। ममीलाई भनेँ— ‘भर्खरै आइपुगेँ है, थकाइ लागेको छ। भोलि कुरा गरौँला!’
बुवाले भन्नुभयो— ‘बाहिर गएर भए पनि केही खा, भोकै नबस्नू!’
हवस् भनेर आश्वासन दिँदै ममीले पोको पारिदिनु भएको कोसेली खोतल्न थालेँ। एउटा बोराभित्र अलिकति आलु, सातु, एक डब्बा घिउ, २-४ पाथी चामल अनि १००० रुपैयाँ रहेछ। त्यहीँबाट अलिकति रोटी निकालेर खाएर सुतेँ— शरीर पूरै थकित, मन गम्भीर थियो।
अर्को दिन बिहान ४–५ पटक फोन आएको रहेछ। छैटौँ पल्टमा बल्ल फोन उठाएँ। उता पट्टिबाट चार्मिलो स्वरमा आवाज आयो— ‘ओइ! सुतिरहेको अझै? फोन नगर्ने हिजो आएर पनि!’
फेरि म केही बोल्न नपाउँदै ‘आज भेट्ने भनेको होइन?’ उनीले केही मधुरो स्वरमा भनिन्।
मैले ‘हुन्छ, कहाँ भेट्ने भन न?’
दुई जनाकै सहमतिमा गोदावरी भेट्ने पक्का गर्यौँ। म नुहाएर खाजा खाई वरी गोदावरीतर्फ लागेँ। बोटानिकल गार्डेनको गेटमै उनीसँग भेट भयो।
ऊ केही चुपचाप थिई आज।
‘सधैँ हाँसिरहने मान्छे, आज किन मौन?’ मैले प्रश्न गरेँ।
बगैँचामा गफ गर्दै गयौँ। घर, परिवार, पढाइ, भविष्य सबै कुरा गर्यौँ।
उनी भनिरहेकी थिइन्— ‘२० दिन तिमीबिना साह्रै बोरिङ भयो यार!’
मैले मुस्काउँदै भनेँ— ‘हो र?’
तर म बोल्दै जाँदा बिस्तारै उनको अनुहार गम्भीर हुँदै गयो। उनी एक टक उभिइरहिन्, म फनक्क पछि फर्केँ। उनको मुहार अँध्यारो थियो, आँखामा आँसु थियो। मैले गोजीबाट रुमाल झिकेर उनको आँखा पुछ्दै गर्दा भनेँ, ‘के भयो?’
उनले रुन्चे स्वरमा भनिन्— ‘म तिम्रो हुन सकिनँ! घरले मेरो बिहे पक्का गरिदिए...’
त्यो सुनेपछि एकछिन मुटु चिरिए जस्तो भएँ। शरीर चिसो भयो, मन भारी। आँखाबाट आँसु आफैँ बग्न थाल्यो र फेरि मनभित्र उर्लियो ती भावनाहरू—
‘जब म आफैँ आफ्नो हुन सकिनँ
मेरो घर त आजकाल मेरो रहेन
मेरा आफन्त आफ्ना छैनन्
आफ्नै साथीले पनि अब त स्वार्थ हेर्छन्
लड्दै हुर्किएको समाजमा म आफै अटाएन
तिमी त केवल जिन्दगीको गोरेटोमा भेटिएकी सहयात्री
तिमी मेरो हुनेछौ भनेर मानेको म— सायद पागल नै थिएँ।’
हाम्रो सम्बन्ध अब केवल भावना र सम्झनामा सीमित भए। उनीसँग बिताएका ती पलहरू केवल अब भाइब्रेन्टका भित्ता, शनिवारका मोक टेस्ट, पुतलीसडकका गल्लीहरू, चिया पसल हुँदै त्रिचन्द्रको बगैँचामा— सबै अब स्मृतिमा मात्र बाँकी रहे।
केही छिनको गन्थनपछि हामीले कहिल्यै नभुल्ने तर कहिल्यै नभेटिने बाचा गर्दै मनमा ढुंगा राखेर बिदा भयौँ।