जेठको मध्य गर्मी मध्यदिनमा पनि मलाई चियाको तलतल लागिरहन्छ। आजकाल खाली छु भनौँ सधैँ खाली नै छु, त्यही पनि आजकाल काममा जान छाडेकोले बढी नै खाली छु। त्यसैले दिन कटाउन लाइब्रेरी आउने गर्छु। यहाँको वातावरण राम्रो लाग्छ।
जाँगर चले किताब पनि पढ्छु। कहिलेकाहीँ पढ्दा पढ्दै अल्छी लाग्दा चिया पिउन निस्कन्छु। भनौँ एकछिन लाइब्रेरीबाट छुटकारा पाउन चिया पसल जान्छु। त्यहाँ वरिपरि म्यानपावर र हवाई टिकट काट्ने ठाउँहरू छन्।
यसै चिया पिउँदा पिउँदै मनमा अनेक कुराहरू गम्दै बसिरहेको थिएँ। अरू म गर्न नै के सक्छु र? त्यत्तिकैमा मानिसहरू अथवा मेरै उमेरका साथीहरू म्यानपावर कता छ भनेर सोध्न आउनुहुन्छ। म त्यहाँबाट अलि भित्र जानुस् भनेर भन्छु तर म डराउँछु। मैले देखेको छु मेरै दाइहरू, साथीहरू ठगिएको। त्यसैले झस्किन्छु।
म नराम्रो पहिला सोच्छु। यसो भनौँ म धेरै नेगेटिभ मान्छे छु। सबै म्यानपावरहरू त्यस्ता पनि हुँदैनन् तर म नै ठगिन लागेझैँ लाग्छ। किन थाहा छैन, उहाँहरू मेरो कोही पनि होइन। म चिन्दा पनि चिन्दिनँ तर उस्तै उमेर अनि उस्तै व्यथा भएर होला कता-कता आफै ठगिन लागे जस्तै लाग्छ।
म हाम्रो जीवन देखेर छक्क पर्छु। कस्तो विडम्बना? कस्तो दोधारमा हाम्रो युवा अवस्था बित्छ? कति छटपटी र अभावमा दुई पैसा कमाउने चक्करमा कति मानिस ठगिएका छन्। कति अलपत्र परेका छन्। अचम्म छ। भरभराउँदो उमेर रोजगारीको चङ्गुलमा बित्छ। तैपनि कति अभाव र बिछोडको छटपटीमा।
पहुँच र शक्तिमा हुनेहरू आफूलाई कुम्ल्याउन नै ठिक्क छ। गफ हान्नेहरू गफ दिएकै छन्। चाकरी गर्नेहरू ताली पिटेकै छन्। युवा म्यानपावर धाउँदैमा व्यस्त छन्। विद्रोह कसले गरोस्? आवाज कसले उठाओस्? सत्ता बाहिरकालाई सत्ताको लालसा छ। कति छिटो त्यहाँ पुगौँ भन्नेमै ध्यान छ। सत्तामा भएकालाई सत्ताको मोह छ।
जो समस्यामा छ ऊ तड्पिरहेछ, भड्किरहेकै छ। कहाँ कसरी छिटो फुस्किन पाइन्छ यहाँबाट र समस्याको जन्जालबाट निस्किन पाइन्छ भनेर दौडिरहेछन् मानिसहरू। तर त्यसमा पनि काँडा बनेर बसेका छन् दलाल र म्यानपावरहरू। सरकार नै त्यस ठगीको हिस्सेदार छ त किन डराउँछन् दलालहरू पनि! कति बेला को कहाँ कसरी ठगिन्छ थाहा छैन। त्यही पनि के गर्ने विकल्प नभएपछि मर्ने थाहा हुँदाहुँदै पनि हाम फाल्न बाध्य छन् मानिसहरू।
म अचम्मसँग घोरिएर सोचिरहेछु, उता चिया सेलाइरहेछ। जवानी घर्किरहेछ, डर सबैलाई छ; अहिले नकमाए कहिले कमाउने? त्यसैले पनि मानिसहरू अवसरको खोजीमा भौँतारी रहेछन्। छटपटाइ रहेछन्। तर सरकार र नेताहरू बकम्फुसे गफ चुटेकै छन्। वाहवाही पाएकै छन् आसेपासेबाट र मक्ख छन्।
म सोचिरहेछु, यो चर्को गर्मीपछि आउने बर्खासँगै भाग्ने गर्मी अनि पलाउने नयाँ पालुवा जस्तै यो गन्जागोल र अस्थिरता अनि लुटतन्त्र पछि के आशाका किरणहरू देखा पर्लान्? कि हामी नेपाली सधैँ अरूकै शरणमा, अरूकै भरोसामा बाँचिरहनु पर्ला? यो सबै भगवान् जानुन्। तर वर्तमान नै यस्तो अस्थिर अस्तव्यस्त भएपछि भविष्य कसरी सुन्दर होला?
भविष्य भन्नु वर्तमानको बिस्तार न हो। तैपनि आशावादी हुनु र अघि बढ्नु बाहेक उपाय छैन। उपाय नभनौँ, कसैले खेदिरहेको र लहलहैमा दौडिरहेका भेडाका बथान जस्तै दौडिन परेको छ अर्कोको देशमा। यहाँ बसेर भेडाको ऊन काँडे झैँ रेमिट्यान्समा रमाइ रहेछन्।
वरिपरिबाट घेरिएर न्यानोमा बसिरहेछन् सरकारमा हुनेहरू। बिचरा हामीहरू हरुवा जिन्दगी लिएर भरुवा बन्दुक जस्तै दौडिरहेछौँ। कतिखेर सिकार देख्छ र पड्काउँछ, सिकारी ढल्छ, सिकार हराउँछ छर्रा। त्यसरी नै हराउँछौँ हामीहरू पनि।
उता मस्तसँग रमाइरहन्छन् ब्रान्डीसँग सितन बनाएर। हामी बिलाउँछौ ढुङ्गा-माटोसँगै। अझ कति पुस्ता यसरी नै बिलाउँछौँ भगवान् नै जानुन्।