सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।
भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।
आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।
'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि छन्।'
मेयर कोइरालाका अनुसार उनी इसराइलको सहकारी अभ्यासबारे अध्ययन गर्न इसराइली निम्तोमा सात दिनअघि त्यहाँ पुगेका थिए। जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ। तर पछिल्लो समय इरानसँगको तनाव बढेपछि त्यहाँका विमानस्थलहरू बन्द छन्। त्यसले नेपाल फिर्ती अनिश्चित बनेको उनले जानकारी दिए।
'यहाँ बेला बेला साइरन बजिरहँदो रहेछ,' कोइरालाले भने, 'इरानले बम या अरू कुनै आक्रमण गर्न लाग्दा साइरन बजेपछि डेढ मिनेटभित्र बंकरभित्र छिरिसक्नुपर्ने रहेछ। म अहिलेसम्म ८–९ पटक बंकरभित्र छिरिसकेँ।'
आफूलाई भेट्न इसराइलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित दुईपटक आइसकेको जानकारी दिँदै कोइरालाले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको बताए।
'राजदूतले दुतवास नै गएर बसौं भन्नुभयो तर साथीहरूलाई छाडेर गएको छैन,' उनले भने।
यसबीच परराष्ट्र मन्त्रालयले इसराइलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेको र उनीहरू सबै जना सुरक्षित रहेको जनाएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले इसराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा ती क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतहरूलाई निर्देशन दिएकी छन्।
मन्त्री राणाले इसराइलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरेर त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचना नियमित प्रवाह गरी नेपालीहरूलाई सुसूचित राख्न निर्देशन दिएको परराष्ट्रले जनाएको छ।
मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख/प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नम्बर +९७२–५३५३६०७४८, ०३५१००१११ र इमेल nepalembassy@012.net.il मा सम्पर्क गर्न सकिने जनाएको छ।
त्यस्तै, नेपाली राजदूतावास, दोहामा मिनिस्टर काउन्सिलर/नियोग उपप्रमुख कुमार राईलाई फोन नम्बर +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इमेल eondoha@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।
इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ। इसराइलसँगको संघर्षमा बीचमा कोही आए उनीहरूको सैन्य संरचनामा पनि हमला गर्ने भनेर इरानले धम्की दिएको गार्डियनको समाचारमा उल्लेख छ।
शुक्रबार इरानले इसराइलमाथि प्रहार गरेको ड्रोन अमेरिकाले खसालेको बताएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलमा लक्ष्य गरेर इरानबाट भएका हमलालाई अमेरेकी एयर डिफेन्स सिस्टमले नष्ट पारेको बताएका थिए।
इसराइलको आक्रमणमा इरानले आफ्ना केही उच्च सैन्य अधिकारीहरू गुमाइसकेको छ।
***