नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा परिचालन हुन प्रहरीहरूलाई निर्देशन दिएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा उनले कार्यालय प्रमुखलाई अझै सक्रिय भएर जिम्मेवारी बहन गर्न निर्देशन दिए।
‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन सक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु,’ सिंहले भने।
सोमबार बालाजुमा यातायात मजदुरको आन्दोलनलाई प्रहरीले समयमा नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेको छ। आन्दोलनकै मौकामा एक समूहले ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट पनि भएको थियो।
यो घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी रविन विष्टको जिम्मेवारी खोसेको थियो।
आइजिपी सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने बताए। उनले सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताए।