काठमाडौंको गौशालाबाट जुवा खेल्ने/खेलाउने ८ जना पक्राउ परेका छन्।
सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित एक कोलोनीको घर भाडामा लिएर जुवा खेलाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा एक जना महिला र ७ जना पुरूष छन्।
कोलोनीमा उमेश सनुवार भन्ने व्यक्तिले घर भाडामा लिएका थिए। त्यहाँ हार-जित हुने गरी जुवा खेल्ने र खेलाउने गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक केशव थेबे नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट प्रहरीले दुई लाख ५२ हजार ५७५ रूपैयाँ बरामद गरेको छ।
उनीहरूबाट १२ बुक तास, पासा खेलाउन प्रयोग हुने १८ वटा गोटी र कपडा पनि बरामद भएको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। उनीहरूले उक्त घरमा लामो समयदेखि जुवा खेल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।