काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म विद्यार्थी महोत्सव हुने भएको छ।
शैक्षिक सुधारका लागि जेठ १ गतेदेखि ३ गतेसम्म विद्यार्थी महोत्सव हुने भएको हो। उक्त कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्दघाटन गर्नेछन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा विद्यार्थीलाई मातृभूमि प्रेम र स्नेह जगाइ 'नेपालमै पढ्छु, म बनाउँछु मेरो देश' भन्ने भावना जागृत गराउँदै विद्यार्थी महोत्सव गर्न लागेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए।
'अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको हो,' उनले भने।
उनका अनुसार विद्यार्थीको रचनात्मक गतिविधिहरू जोडेर विद्यार्थीलाई विभिन्न सीप तथा ज्ञानको बारेमा सिकाइनुका साथै प्रदर्शन गरिनेछ।
यसका लागि एक सय ५० वटा स्टलहरू राखिनेछ।
त्यसमा विद्यार्थीले नेपालमा कस्ता-कस्ता विषयहरू पढाइ हुन्छन्। साथै विज्ञान र प्रविधिसँग सम्बन्धित खोज, अनुसन्धान र नवप्रवर्तनका विषयमा प्रदर्शन गरिने अध्यक्ष बडालले जानकारी दिए।
'विद्यार्थी संघले आन्दोलन मात्र गर्छन् भन्ने भ्रमलाई तोड्न चाहन्छौं,' उनले भने, 'यो पहिलो विद्यार्थी महोत्सव हो।'
महोत्सवमा कक्षा ८ देखि उच्च तहका व्यक्तिहरू आउने अपेक्षा गरिएको छ। यसका लागि डेढ करोड रूपैयाँ लगानी हुने अनुमान गरिएको अध्यक्ष बडालले बताए।
विद्यार्थी महोत्सवका लागि विभिन्न शैक्षिक संस्था, स्टल राख्ने व्यक्तिहरूले सहयोग गरेका छन्। प्राप्त सहयोगको ५ प्रतिशत रकमले विद्यार्थीलाई पढ्न सहयोग गर्ने उनको भनाइ छ।
यस महोत्सवमा विद्यार्थीले अवलोकन गर्न कुनै पनि शुल्क तिर्नु पर्दैन।
महोत्सवले विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको उनले जानकारी दिए।