उनको बुवा चित्र बनाउँथे। बाजे तन्त्रविद्या गर्थे। उनी भने दुवैका संयोजन हुन्— चित्र पनि बनाउँछन्, तन्त्रविद्या पनि सिकाउँछन्।
उनी हुन्, लगनखेलका सुरेशकुमार द्यःला।
केही दिनअघि हामी सुरेशले तन्त्रविद्या सिकाउने ठाउँ गएका थियौं। उनी एक जना व्यक्तिलाई तन्त्रविद्याको मन्त्र सिकाउँदै थिए। त्यतिञ्जेल हामी कोठामा सजाइएका चित्र हेर्न थाल्यौं, जो उनले नै बनाएका हुन्। कुनै मुहार चित्र (पोट्रट), कुनै भगवानका चित्र। काठका साना टुक्रामा बनाइएका चित्र पनि हामीले देख्यौं।
उनी जसै मन्त्र सिकाउने काम भ्याए, हाम्रो कुराकानी अघि बढ्यो।
सुरेशले गत वर्ष भगवान शिवको जीवनमा आधारित शृंखलामा 'सत्यम् शिवम् सुन्दरम्' नामको किताब निकालेका छन्। हालसम्मका उनका धेरै चित्र शिवलाई नै केन्द्रमा राखेर बनाइएको छ। त्यही भएर कुराकानीको सुरूमै हामीले सोध्यौं, 'तपाईंलाई शिवप्रति यति धेरै लगाव किन?'
उनले पहिले ठट्यौली पारामा जवाफ दिए, 'थाहा छैन, पूर्वजन्ममा तपस्या गर्न नपुगेर यो जन्ममा गर्न आएको हो कि!'
त्यसपछि उनले भने, 'मलाई सानैदेखि शिव मनपर्थ्यो। एकदिन धनगढीबाट एक जना काका क्यालेन्डर लिएर हाम्रो घर आउनुभयो। त्यसमा शिवले गणेश भगवानलाई बोकिरहेको दृश्य थियो। त्यो फोटो हेर्दा मलाई शिवले बोलाइरहनु भएजस्तो महसुस भयो। त्यस दिनबाट मैले संकल्प लिएँ, कुनै दिन फिल्म निर्देशक भएँ भने म शिवकै फिल्म बनाउँछु वा लेखक भएँ भने शिवकै बारेमा लेख्छु। संयोगले म कलाकार भएँ, त्यसैले रङ र कलाको माध्यमले शिवको चित्र बनाउँदै छु। साँच्चै भन्ने हो भने यो मेरो बच्चादेखिको ड्रिम प्रोजेक्ट हो।'
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6490%20copy.jpg)
सुरेशका अनुसार शिवलाई न सुख छ न दुःख। उनले पत्नीवियोग सहेका छन्। संसारले फ्याँकेका नराम्रा कुरा पनि आफूमा समेटेका छन्।
शिवको परिवार पनि सुरेशलाई रोचक लाग्छ। ती सबै एकअर्काका विपक्षीजस्ता देखिन्छन् तर एकसाथ बसेका छन्। जस्तो, गणेशको वाहन मुसा र शिवको घाँटीमा बेरिएर बस्ने सर्प। यी दुवै शिव परिवारका सदस्य हुन् तर सर्प मुसाको आहार पनि हो। शिवका अर्का छोरा कुमारको वाहन मयुरले पनि सर्प खान्छ।
यी वाहनसहितको परिवारजनलाई सुरेशले 'सत्यम् शिवम् सुन्दरम्' किताबमा 'शिव पार्वतीको देव परिवार' शीर्षक चित्रमा समेटेका छन्। उनको किताबमा योसहित अन्धकको अन्त्य, अर्द्धनारीश्वर अवतार, भगवान शिवबाट कामदेवको दहन, समुद्र मन्थन, गणेश भगवानको पृथ्वी परिक्रमा, त्रिपुर दहन, ताण्डव नृत्य लगायतका करिब दुई दर्जन चित्र र तिनको कथा हेर्न–पढ्न पाइन्छ।
'सत्यम् शिवम् सुन्दरम्' को अर्थ हो चिन्तनमा सत्य, कर्ममा शिवत्व र सौन्दर्यको तत्वबोध। लामो समयदेखि शिव साधनामा लागेका सुरेशका अनुसार हामीले बजारमा देख्दै आएका शिवका चित्र र पोस्टरमा भारतीय प्रभाव बढी छ। त्यसो भए नेपाली शैलीमा शिव कस्ता देखिएलान्?
यसबारे बुझाउन सुरूमा उनले शास्त्रको सहारा लिए।
उनका अनुसार शास्त्रमा शिवको कुनै निश्चित वर्णन छैन। वेदमा चार ठाउँ रूद्र भनेर भनिएको छ। शिव भन्ने शब्द भेटिएकै पुराणमा हो। त्यसमा शिवले विष खाएपछि उनको शरीरको रङ निलो भएको वर्णन छ। नेपाली संस्कृति पछ्याउँदा शिवको रूप निलो नभई सेतोका रूपमा वर्णन गरिएको पाइन्छ। त्यही भएर उनका चित्रमा शिवको आकृतिमा निलो रङ कम हुन्छ, सेतो र रातोको मिश्रण बढी देखिन्छ।
'निख्खर निलो वा सेतो रङ मात्र नभई रातो पनि मिसाएको छु। जसरी मान्छेको शरीरमा रातो रगत बग्छ, भगवानको शरीरमा बग्ने रगत पनि त रातै होला नि!' उनले भने।
शास्त्रमा वर्णन गरिएअनुसार भगवानलाई कहिल्यै पसिना आउँदैन। उनको पोसाक कहिल्यै कच्याककुचुक हुँदैन। अनुहारमा जहिल्यै तेज झल्किरहन्छ। जमिनमा बस्दा पनि सतहभन्दा माथि उठेजस्ता देखिन्छन्। शास्त्रको यो वर्णनअनुसार चित्र बनाउँदा अप्राकृतिक लाग्ने भएकाले आफूले प्राकृतिक भावना जोडेर चित्र बनाएको सुरेश बताउँछन्।
शास्त्र पढिसकेपछि शिव स्वरूप कस्तो होला भनेर जान्न सुरेश तान्त्रिकसमेत भए। ध्यानको सहायता लिए। आफूले ध्यानकै बलमा भगवानका धेरै चित्र बनाएको उनको भनाइ छ।
'ध्यान गर्दा भगवानसँग सिधा कुराकानी भएजस्तो हुन्छ। भगवान स्वयं आफ्नो रूप कस्तो छ भनेर देखाउन आएजस्तो लाग्छ। त्यही भएर म भगवानको कुनै कथा टिप्छु, ध्यान गर्छु अनि चित्र बनाउँछु,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6495%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6498%20copy.jpg)
५० वर्ष उमेरका सुरेशले शिवको शृंखलामा काम गरेको करिब २० वर्ष भयो। यति धेरै समय लाग्नुको एउटा कारण उनी दिनभर तन्त्रविद्याको काममा व्यस्त हुनुले हो। कामबाट फर्किएपछि साँझतिर मात्र चित्र बनाउँछन्।
अर्को कारण, जीवनमा एकपटक गर्ने यस्तो साधनापूर्ण काममा उनलाई कुनै सम्झौता गर्नु थिएन।
चित्रमा सम्झौता नगरे पनि उनले पछिल्ला २० वर्षमा जीवनसँग एउटा सम्झौता गरे। त्यो के भने, २० वर्षमा उनले कुनै कला प्रदर्शनी गरेनन्, न कुनै प्रदर्शनीमा आफ्नो चित्र पठाए।
'मलाई यस्तो काम गर्न मन थियो जसले मान्छेको दिमागमा छाप पारोस्। त्यही भएर दायाँबायाँ नगरी शिवका चित्रहरू बनाएँ,' उनले भने, 'आफ्नो जोस–जाँगर नसेलाउँदै मलाई शिवमा काम गर्नु थियो, जुन मैले गरेँ। त्यसपछि बल्ल मैले यही शृंखलाका चित्रहरूको प्रदर्शनी गरेँ।'
गत वर्ष भदौमा सुरेशले 'सत्यम् शिवम् सुन्दरम्' को कला प्रदर्शनीसँगै किताब विमोचन गरेका हुन्। त्यति बेला मान्छेहरूबाट पाएको प्रशंसा सुनाउँदै उनले भने, 'यस्तो खालको प्रदर्शनी एउटा कलाकार हरि शर्माले र अर्को तपाईंले गर्नुभएको छ भनेर धेरैले मलाई भनेका थिए।'
सुरेश एक्रेलिक, पानीरङ, तेलरंङ, पेस्टल, चारकोल लगायत सबै खालका रङ प्रयोग गरेर चित्र बनाउँछन्। त्यसमध्ये एक्रेलिक चाँडो सुक्ने भएकाले आफ्नो यो शृंखलामा त्यही प्रयोग गरेका छन्।
उनलाई मान्छेले धेरैजसो चिन्ने मुहार बनाउने कलाकारका रूपमा हो। उनका बुवाले पनि मुहार चित्र धेरै बनाउँथे। तर उनले कोठाभित्रै चित्र बनाए, खुलेर बाहिर आउन चाहेनन्। सुरेश भने धकाएनन्। केही विद्यार्थीलाई चित्र बनाउनसमेत सिकाइरहेका उनी सुरूमा मुहार चित्र नै बनाउन सिकाउँछन्।
मुहार चित्र बनाउनु एकदम चुनौतीपूर्ण काम हो। जसको चित्र बनाएको हो, उस्तै देखिनुपर्ने चुनौती हुन्छ। यसमा हुने गल्ती सानो बच्चाले समेत थाहा पाउन सक्छ। त्यही भएर अक्सर मानिस मुहार चित्र बनाउन गाह्रो मान्छन्।
लामो समयको अभ्यासले सुरेशलाई भने कहिलेकाहीँ महसुस हुन्छ, 'यसको चित्र यसरी बनाउन पाए त...।'
सुरेश भगवान र मान्छे दुवैको चित्र बनाउँछन्। भगवानभन्दा मान्छेको चित्र बनाउन गाह्रो लाग्छ। त्यसो हुनुको कारण भगवानले चित्र मनपर्यो वा परेन भनेर गुनासो गर्दैनन्। मान्छेको चित्त बुझाउन मुश्किल हुन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6525%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6528%20copy.jpg)
उनी भगवानमा त आस्था देख्छन्, मान्छेमा के देख्छन् होला?
'स्वार्थ मात्र देख्छु,' उनले भने, 'हामी मन्दिरमा एउटा ढुंगा मात्र भए पनि विश्वासका साथ पूजा गर्छौं। किन? किनभने हाम्रो विश्वास भगवानले तोड्दैन। तर मान्छेलाई अहिले विश्वास गर्यो, एकैछिनमा तोड्न सक्छ।'
सुरेशले सुरूमा चित्र बनाउन थालेको पोस्टकार्ड र फोटो हेरेर हो। बिस्तारै कल्पना गरेर बनाउन थाले।
औपचारिक शिक्षाका लागि भने २०६० सालमा ललितकला क्याम्पसमा कक्षा १२ मा भर्ना भए। त्यति बेला उनी ३७ वर्षका थिए। सर्टिफिकेटका लागि मात्र औपचारिक शिक्षा लिएको बताउने उनलाई शिवपछि अब गर्न मन लागेको कला शृंखला रावणमाथि हो।
रावण शिवभक्त हुन्। दसवटा टाउको भएको मानिने रावणले दस जनाले सोच्ने कुरा एक्लै सोच्न सक्थे भन्ने विश्वास गरिन्छ। उनी बुद्धिमान थिए, बलवान थिए र धर्मात्मा पनि उत्तिकै थिए। तर उनको नराम्रो पाटो मात्र प्रचार गरिएको सुरेश बताउँछन्।
रावणमाथि शृंखलाबद्ध चित्रहरू कोर्न श्रीलंका गएर अध्ययन गर्नुपर्ने सुरेशको धारणा छ।
'मलाई त त्यहीँको पात्र चाहियो नि। रावणबारे सबै बुझ्नुपर्यो। कुनै मान्छेले मेरो चित्र हेरेर केही प्रश्न सोध्यो भने त्यसको जवाफ फर्काउनसक्ने हुनुपर्यो। यसका लागि नेपालमा मात्र अध्ययन गरेर पुग्दैन,' उनले भने।
रावणबाहेक उनले 'हिडन ट्रेजर' शृंखलाअन्तर्गत दसवटा काठमा काम गरेका छन्। मन्दिरमा हुने टुँडालजस्तै शैलीमा उनले सिसौको काठका टुक्रामा एक्रेलिक रङले पेन्टिङ गरेर देवीदेवता र अष्टमातृकाका चित्र कुँदेका छन्। यो कलाको प्रदर्शनी यसै वर्ष गर्ने तयारीमा छन्।
फुर्सदको समय चित्र बनाउने सुरेश दिनभर तन्त्रविद्याको काममा व्यस्त हुन्छन्। यो बेला उनलाई भेट्न आउनेहरू पनि या त तन्त्रविद्या सिक्नेहरू हुन्छन् या यससम्बन्धी समस्या लिएर आउनेहरू। पारिवारिक झैझगडा, पीडा, तनाव कम गर्न र आफ्नो भविष्यबारे जान्न मान्छेहरू उनलाई भेट्न आउँछन्। बिहान १० देखि बेलुकी ५ बजेसम्म तन्त्रविद्यामा लाग्ने उनी काम र मान्छेका बोझ सबै चित्रमा पोख्छन्।
'दिनभर मान्छेहरूले कुरा गरेर थुपारेका फोहोर सबै चित्रमा निकाल्छु। तन्त्रविद्याको क्षेत्रबाट ठ्याक्कै परिवर्तन भइसकेको हुन्छु,' उनले भने, 'चित्र बनाउँदा मलाई कहिले तन्त्रविद्याले असर गर्दैन। बरू तन्त्रविद्यामा रहँदा कहिलेकाहीँ चित्रका पात्रले असर गरिरहेको हुन्छ। मैले बनाइरहेका पात्र ठिक छन् कि छैनन् भन्ने कुरा दिमागमा खेलिरहन्छ।'
चित्र भनेको कला रङ संयोजन हो भने तन्त्रविद्या शब्द र मन्त्रको संयोजन। सुरेशलाई तन्त्रविद्या र चित्र बनाउनु दुवै साधना र ध्यान गर्नु बराबर लाग्छ। दुवै एकअर्काबाट फरक छन् तर उनले दुवैलाई समानान्तर रूपमा लगिरहेका छन्। दुवैले आफूलाई धैर्य सिकाएको उनी बताउँछन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_NBD6546%20copy.jpg)
कलासँगै साहित्यमा पनि रूचि भएका सुरेशले यसअघि कवि तथा साहित्यकारका चित्रमाथि शृंखलाबद्ध काम गरेका थिए। त्यसको किताब पनि निकाले र प्रदर्शनी पनि गरे। अब कहिले पनि त्यस्तो काम नगर्ने उनले सोचेका छन्।
त्यसको कारण बताउँदै उनले भने, 'न गम, न खुसी भन्छन् नि, त्यो काम गर्दा मलाई त्यस्तै अनुभव भयो। मैले कसरी उनीहरूलाई मुहार चित्रमा उतारेँ भनेर कम-से-कम आएर हेरिदिऊन् भन्ने चाहना थियो। तर कसैले वास्ता गरेनन्। जुन कुरा जोसम्म पुगोस् भनेर बनाइएको हो त्यो नपुगेपछि बनाउनुको के अर्थ!'
हामीले उनलाई सोध्यौं, 'भगवानको चित्र पनि बनाउनुभएको छ। के भगवान आएर तपाईंको चित्र हेर्छन् त?'
'हेर्छन्। सय प्रतिशत दाबी गरेर भन्न सक्छु। भगवानले हेर्ने मात्र होइन, तपाईंको कुरा सुन्नु पनि हुन्छ। तपाईंले कहिले भगवानसँग कुरा गर्नुभएको छ?' जवाफमा उल्टै प्रश्न सोध्दै उनले भने, 'भगवानलाई महसुस गर्नुस् न। उनले हेर्ने, देख्ने, सुन्ने सबै गर्छन्।'
हामीले उनलाई अन्तिम प्रश्न सोध्यौं, 'भगवानप्रति आस्था भयो भने के हामीले उनलाई देख्न पनि सक्छौं?'
सुरेशले भने, 'सूर्यलाई सिधा हेर्न त हामीलाई कति गाह्रो हुन्छ, भगवानलाई हेर्न गाह्रै हुन्छ नि! महसुस गर्नुस् न, वरपरै त छन्।'
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी