सवारी दुर्घटनामा ज्यान गुमाएकी शिक्षक सीता लम्सालका आफन्तले दाङको तुलसीपुरको पुल्चोकमा गरेको सडक बन्द खुलेको छ।
किरिया खर्च बापत ५० हजार रुपैयाँ नगद आजै पीडित पक्षले बुझेका छन् भने स्कुटर किन्नका लागि दुई लाख दिने सहमतिपछि बाटो खोल्न पीडित पक्ष सहमत भएको स्रोतले जानकारी दिएको छ।
योबाहेक ४५ दिनभित्र बीमा बापतको रकम उपलब्ध गराई सक्ने ट्याक्सी समिति र पीडित पक्षका बीचमा सहमति भएको छ।
सहमति अनुसार दुर्घटनामा परेको स्कुटर ट्याक्सी समितिको नाममा नामसारी गरिदिने र बदलामा समितिले दुई लाख रुपैयाँ स्कुटरका लागि दिने सहमति भएको छ।
सहमतिसँगै आफन्तले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट शव बुझेर लगेका छन्।
हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जिपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको सीता सवार स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया सीताको बिहीबार दिउँसो उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो।
सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षक थिइन्।
शुक्रबार बिहान पौने नौ बजेदेखि उचित क्षतिपूर्तिको माग गर्दै तुलसीपुर–हापुरे सडक खण्ड अवरूद्ध गरेका थिए।
सडक खण्ड खुलेपछि सवारी र यात्रु गन्तव्यतर्फ लागेको तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
यो पनि:
आज स्कुल पढाउन जान पाइनन् सीता
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १३:३६:२९