पनौतीकी नयाँ कुमारी बनेकी छन् रियास्ना घुल्लु। रामनवमीका दिन बुधबार नयाँ कुमारीका रूपमा उनलाई प्रतिस्थापन गरिएको हो।
पनौतीको लायकू डबलीमा रियास्नालाई नयाँ कुमारी बनाउँदा पुरानी कुमारी ओजस्वी घुल्लुलाई सम्मानजनक बिदाई पनि गरिएको छ। ८ महिनाको उमेरमै पनौतीकी कुमारी बनेकी ओजस्वीलाई ९ वर्षको उमेरमा बिदाई गरिएको हो। रियास्ना ६ वर्षको भइन्।
‘पनौतीमा ९ वर्षमुनिका बालिकालाई नेवारी परम्पराअनुसार बेल विवाह गरिदिने चलन छ। ओजस्वीको बेल विवाहको समय भइसकेकाले उनलाई परिवर्तन गर्न लागिएको हो,’ पनौतीका स्थानीय एवं फोटोग्राफर प्रशान्त श्रेष्ठले भने।
ओजस्वी भन्दाअगाडि गणेशमाया सुवाल कुमारी बनेकी थिइन्। उनीपछिको ८० वर्ष पनौती कुमारीविहीन बनेको थियो। पनौतीको कुमारी ब्युँताउने भनेर २०७१ सालमा सुवाल कुलबाट सानी बालिकाको खोजी भयो।
पनौतीमा पनि कुमारी भएको थाहा पाएपछि काठमाडौं, ह्युमत टोलको मिसा पुचः कुमारी छान्न यहाँ आएका थिए। तर त्यस समय सुवाल कुलमा रजस्वला नभएकी कुनै कन्या फेला परेनन्। जो थिए, उनीहरूको पनि नेवार परम्पराअनुसार 'गुफा' वा 'इही' भइसकेको थियो। त्यही भएर उनीहरू कुमारी बन्न उपयुक्त ठहरिएनन्।
सुवाल कुलबाट उपयुक्त बालिका फेला नपरेपछि सुवालसँग व्यवहार र रीतिथिति मिल्ने घुल्लु परिवारकी बालिकालाई कुमारी बनाइएको थियो।
'योपटक पनि सुवाल कुलबाट बालिका खोज्ने प्रयास भएको थियो। उपयुक्त बालिका फेला पार्न नसकेपछि घुल्लु कुलकै बालिकालाई कुमारी बनाएर पनौतीको कुमारी परम्परालाई निरन्तरता दिइएको हो,' प्रशान्तले भने।
इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा बालिकालाई 'जीवित देवी' कुमारीका रूपमा पुजिनु काठमाडौं उपत्यकाको पुरानो चलन हो। श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई सिमरौनगढमा भएको बंगाली मुसलमानहरूको आक्रमणबाट बचाउन राजा हरिसिंहदेव र देवलदेवीले नेपाल लिएर आएका थिए। यहाँ ल्याउने क्रममा तुलजा भवानीलाई एक रात पनौतीको दुमांगल टोलमा राखिएको स्थानीय विश्वास छ।
पनौतीमा सुवाल कुलकै कन्यालाई कुमारी बनाउनुको पछाडि पनि कारण छ। सिम्रौनगढकी रानी देवलदेवीले तुलजा भवानीलाई लिएर एक रात यहाँ बास बस्दा सुवाल कुलकी कन्याले सेवा गरेकी थिइन् भन्ने भनाइ छ।