युक्रेनले समुद्री ड्रोन प्रयोग गरेर दुई वटा रूसी लडाकु विमान खसालेको दावी गरेको छ।
युक्रेनको सैन्य गुप्तचर निकाय एचयुआरको मागुरा-७ समुद्री ड्रोनले ब्ल्याक सीमा रहेको रूसी बन्दरगाह नोभोरोसियस्क नजिकै उडिरहेका दुई सुकोइ सु-३० लडाकु विमान खसालेको दावी युक्रेनले गरेको हो।
अमेरिकाले दिएको मिसाइल प्रहार गरेर ती ड्रोनले शुक्रबार दुई रूसी लडाकु विमान खसालेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
ती रूसी लडाकु विमानमाथि अमेरिकामा बनेको इन्फ्रारेड-निर्देशित एम-९ मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ। ती मिसाइल युक्रेनलाई अमेरिका र क्यानडाले प्रदान गर्छन्।
युक्रेनले यसअघि डिसेम्बर ३१ मा पनि समुद्री ड्रोनबाट मिसाइल प्रहार गरेर दुई रूसी हेलिकप्टर खसालेको थियो।
रूसको सेनाले लडाकु विमान खसालिएको बारे कुनै टिप्पणी गरेको छैन र त्यसको स्वतन्त्र पुष्टि हुन भने अझै बाँकी छ।
युक्रेनको दावी साँचो हो भने समुद्री ड्रोनले कुनै लडाकु विमान खसालेको संसारमै यो पहिलो घटना हो।
युक्रेनको सैन्य गुप्तचर निकाय एचयुआरले पोस्ट गरेको अस्थिर क्यामेराले खिचेको एउटा भिडियोमा टाढा समुद्रमाथि एक वस्तुमा आगो लागेर बिस्फोट भएको देखिन्छ। त्यसपछि क्यामेरा घुम्छ र त्यो वस्तु समुद्रमा खस्दै गरेको देखिन्छ।
दुई मध्ये एउटा लडाकु विमानका चालक दललाई व्यापारिक पानीजहाजले पानीबाट उद्धार गरेर निकालेको तर दोस्रो विमानमा सवार कोही पनि नबाँचेको युक्रेनले दावी गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो आक्रमणलाई उत्कृष्ट भन्दै त्यसले युक्रेनको क्षमताको प्रमाण दिएको बताएका छन्।
यो घटनाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दावी गरेजस्तो युक्रेनले सजिलै युद्ध हार्दैन भनेर एक पटक फेरि पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच जारी युद्ध रोक्न पहल गरिरहेको बेलामा युक्रेनले रूसी लडाकु विमान खसालेको हो।
अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिन सहमति दिएका छैनन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सिमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका छन्।
पुटिन युद्धविरामका लागि तयार नभए रिसाएर रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने ट्रम्पले चेतावनी समेत दिएका थिए। युरोपेली मुलुकहरूले पनि रूसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका थिए।
रूस र युक्रेन दुवैलाई दबाव हाल्न अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युद्धविरामका लागि रूस केही दिनभित्र तयार नभए अमेरिका युक्रेनमा शान्ति स्थापना प्रयासबाट पछि हट्ने चेतावनी समेत दिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)