नेकपा (माओवादी केन्द्र)सहित ८ दलले बुधबार पार्टी एकता घोषणा गर्दैछन्।
एकता घोषणाका लागि बुधबार दिउँसो १ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको छ।
उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ८ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्।
एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ।
माओवादी केन्द्रको मंगलबार सम्पन्न महाधिवेशन आयोजक समितिको अन्तिम तथा पूर्ण बैठकले एकता अनुमोदन गरेको थियो।
बैठकमा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकतापछि बन्ने पार्टीको नाम र चुनाव चिह्नबारे प्रष्टिकरण दिएका छन्।
उनले पार्टीको नाम र चुनाव चिह्नबारे गम्भीर छलफल भएको र धेरैतिर सम्पर्क गरी सुझाव लिएर निर्णय गरिएको बताए।
सोही आधारमा पार्टीको नाम छोटो पनि हुने भएकाले नेपाली कम्युनिस्ट पार्टी राख्ने निर्णय भएको बताए।
'पहिलेको नाम अलि नमिलेजस्तो हामीलाई महसुस भयो। किनभने भारतले भारत कम्युनिस्ट पार्टी भन्दैन। चीनले चीन कम्युनिस्ट पार्टी भन्दैन। चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी भनेजस्तै नेपालको पनि नेपाली कम्युनिस्ट पार्टी सबै दृष्टिकोणले यो ठीक छ भन्नेमा हामी सर्वसम्मत भयौं,' उनले भने।
चुनाव चिह्न पनि सोही अनुसार पाँच कुने तारा राख्ने निर्णय भएको उनले बताए।
'यो तारा विश्वभरि स्थापित चिह्न हो। कम्युनिस्ट आन्दोलनमा धेरै प्रयोग हुने गरेकै चिह्न हो,' उनले भने,' चीनको कम्युनिस्ट पार्टी र सरकारको झन्डामा तारा लाई नै प्रयोग गरिएको छ। हामीले जनयुद्धमा पनि जनमुक्ति सेनाको लोगोको रूपमा तारा नै प्रयोग गरेका थियौं।'
पाँचकुने तारा चुनाव चिह्न हुने भएपछि वामदेव गौतम खुशी भएको पनि प्रचण्डले बताए।
'पहिला वामदेवजीले पार्टी बनाएको बेलामा उहाँले निर्वाचन आयोगमा दर्ता गरेको चुनाव चिह्न पनि तारा नै रहेछ। अहिले वामदेव जी खुशीले गदगद हुनुहुन्छ। तारा चुनाव चिह्न भएपछि। हामी पनि गदगद नै छौं। सबै गदगद भइएको छ तारामा। भन्न पनि सजिलो, बनाउन पनि सजिलो,' उनले भने।