मुटु रोग लागेका सबै व्यक्तिहरूको अपरेसन गर्नुपर्छ भन्ने हुँदैन। तर कुनै यस्ता खालका समस्या हुन्छन्, जसको अपरेसन नगरी हुँदैन।
जन्मजात मुटुका रोगहरू, मुटुमा प्वाल भएको, मुटुबाट निस्कने ठूला ठूला धमनीहरू उल्टो बसेको अवस्थामा अपरेसन गर्नुपर्छ। त्यस्तै फोक्सोतिर जाने बाटो साँघुरो भएको, मुटुको कुनै भाग राम्रोसँग विकास नभएको अवस्थामा पनि अपरेसनहरू हुन्छ।
मुटुका भल्भहरू बिग्रिए भने तिनीहरूको मर्मत गर्ने भल्भ फेर्ने लगायतका अपरेसनहरू हुन्छ।
त्यस्तै, अर्को बाइपास अपरेसन भन्ने हुन्छ। मुटुको नसा ब्लक भयो, स्ट्यान्ट राख्न मिलेन, एन्जियोप्लास्टी गर्न नमिल्ने खालको छ भने ओपन हर्ट सर्जरी गर्नुपर्छ। त्यस्तो बेला छाती खोलेर खुट्टाको या हातको नसाहरू झिकेर अपरेसन गरिन्छ। कतिपय अवस्थामा धमनी फुट्यो, च्यातियो अथवा ठूलो भयो भने पनि अपरेसन गरेर फेर्ने हुन्छ। पेसमेकर राख्ने अपरेसन पनि हुन्छ।
रोगको प्रकृतिका आधारमा अपरेसन हुन्छ। कतिपयमा क्लोज हर्ट सर्जरी हुन्छ भने कतिपय अवस्थामा ओपन हर्ट सर्जरी हुन्छ। क्लोज हर्ट सर्जरीभन्दा ओपन हर्ट सर्जरी अलि जटिल हुन्छ। किनभने ओपन हर्ट सर्जरीमा अपरेसन गर्ने व्यक्तिलाई कृत्रिम रक्तसञ्चारमा राख्न पर्ने हुन्छ। मुटु र फोक्सो बन्द गराएर गरिने भएकाले अलि जोखिमपूर्ण पनि मानिन्छ।
अन्य साना खालका अपरेसनमा भने बाइपासमा जानु पर्दैन।
कुनै पनि सर्जरी आफैमा सामान्य भन्ने हुँदैन। त्यसमा पनि ओपन हर्ट सर्जरी सामान्य हुँदैन। कहिलेकाहीँ २,३ वटा भल्भ फेर्नुपर्ने हुन्छ, अनि मुटुका धमनीहरू फुट्यो भने त्यसको अपरेसन सबभन्दा जटिल हुन्छ। त्यस्तो बेला २/३ घण्टा मुटुलाई बन्द गर्नुपर्ने हुन्छ भने शरीरलाई चिसो बनाउनुपर्ने हुन्छ।
मुटुको अपरेसनको कुरा गर्ने हो भने नेपालमा लगभग ९५ प्रतिशन सम्भव छ। कार्डियोलोजी र सर्जरीको टिम मिलेर एन्जियोप्लास्टीदेखि पेसमेकर राख्नेसम्म अनि मुटुको चाल बिग्रिएको उपचार, मुटुको भल्भ फेर्ने, जन्मजात मुटु रोगको प्वालहरू टाल्ने, नसा सिधा बनाउन, नसा सुल्ट्याउने बाइपास अपरेसन नसा फुटेको लगायतका धेरै खालका अपरेसन नेपालमै सम्भव छ।
त्यसमा पनि हाम्रो नेपालमा धेरै हुने अपरेसन भनेको बाइपास अपरेसन नै हो। त्यसपछि भल्भ फेर्ने अपरेसन हो। जन्मजात मुटु रोगको समस्या भएको अपरेसन नेपालमा धेरै हुन्छ। काठमाडौं बाहिर धरान, विराटनगर, चितवन लगायतका ठाउँमा मुटुका अपरेसन भइरहेका छन्। त्यहाँ पनि सबै खालका अपरेसन गर्न सक्षम जनशक्ति छ। तर केही सरकारी अनुदानका कारण काठमाडौं आउनु पर्ने अवस्था छ।
कृत्रिम मुटु राख्ने र मुटु प्रत्यारोपण बाहेक सबै खालका अपरेसन नेपालमा सम्भव छ। युरोप, अमेरिका र भारतमै पनि मुटु प्रत्यारोपण हुन्छ।नेपालमा पनि चाँडै यसको सुरूवात हुन्छ भन्नेमा म आशावादी छु।
मुटुको अपरेसन गरिसकेपछि त्यसको अवस्था अनुसार हेरचाह गर्नुपर्छ। नियमित परीक्षणमा के गर्ने, कस्तो खालको औषधि खाने भन्ने महत्वपूर्ण हुन्छ। सामान्य प्वाल टालेको बिरामीलाई एक डेढ महिनापछि औषधि नै खानु पर्दैन।
अलि जटिल खालको छ भने केही समय बढी खानुपर्ने हुन्छ। जस्तो: मुटुमा प्वाल भएको बिरामीको रोग छिप्पlएर फोक्सोको समेत प्रेसर बढेको छ भने कहिलेकाहीँ जीवनभर औषधि खानुपर्ने हुन्छ। मुटुको मेटालिक भल्भ फेरेका बिरामीले जीवनभर औषधी खानुपर्छ। रगत पातलो गर्ने औषधि खानुपर्ने भएकाले हरेक महिना रगत परीक्षण पनि गर्नुपर्छ।
अर्थात् रोग कस्तो छ भन्ने आधारमा त्यसको हेरचाह गर्नुपर्छ।
मुटुको समस्या हुनुभन्दा पहिला केही संकेत देखिन्छन्। रोग लागेपछि लक्षण देखिन्छ भने रोग लाग्नुभन्दा पहिला संकेत देखिन सक्छ जस्तो थकाइ लाग्ने, पहिलाभन्दा छिटो थकाइ लाग्ने हुन्छ। पहिला ४/५ तलासम्म जान सक्ने मान्छे अहिले थाकेर २/३ तलामै रोकिने हुन्छ। सास फुलेजस्तो, छाती भारी भएजस्तो हुने, स्वाँस्वाँ हुने, छिटो थाक्ने पनि मुटु रोगका संकेत हुनसक्छन्। कोलस्ट्रोल, सुगर बढ्नु पनि भविष्यमा मुटु रोग लाग्न सक्छ भन्ने संकेत हुन सक्छ।
पहिला ४० वर्षमा मुटु परीक्षण गरिन्थ्यो अहिले ३५ वर्षमा गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं। प्रत्येक वर्ष एक पटक मुटु परीक्षण गरेको राम्रो हो। त्यसमा उच्च रक्तचाप, मधुमेह छ भने ६/६ महिनामा मुटु परीक्षण गर्नुपर्छ।
(सहप्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई त्रि.वि. मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख समेत हुन्।)