नेपाली सेनाले आयोजना गरेको ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८३’ सम्पन्न भएको छ।
जंगी अड्डामा मंगलबारदेखि आयोजित गोष्ठी बुधबार प्रधानसेनापति अशोक राज सिग्देलले समापन गरेका हुन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साइबर चुनौती, डाटा चुहावट र कृत्रिम एआई बाट सिर्जित सुरक्षा जोखिमबारे छलफल गर्न गोष्ठी आयोजना गरिएको हो।
सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायबीच सहकार्य, समन्वय र सम्पर्क विस्तार गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
कार्यक्रममा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागीबीच अन्तरक्रिया समेत गरिएको थियो।
गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा साइबर सुरक्षासम्बन्धी गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमले राष्ट्रिय स्तरमा साइबर सुरक्षा रणनीति तय गर्न, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा निर्माण गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको सेनाले जनाएको छ।