ओखलढुंगाका केदार तिमल्सेना अमेरिका गएको १३ वर्ष भयो। हाल उनी नर्थ क्यारोलाइना राज्यमा बस्दै आएका छन्।
उनी त्यहाँ वेल्स फार्गो बैंकमा सफ्टवेयर इन्जिनियरका रूपमा काम गर्छन्।
उनले त्यहाँ काम गरेको पाँच वर्ष भयो।
बैंकका डिजिटल प्रणालीहरूको विकास, मर्मत तथा स्तरोन्नति गर्ने, एप्लिकेसन सञ्चालन सुरक्षित, प्रभावकारी र भरपर्दो बनाउने तथा उत्पन्न हुने प्राविधिक समस्या समाधान गर्ने उनको मुख्य जिम्मेवारी हो।
त्यस्तै, बैंकको सूचना प्रविधि पूर्वाधार सुदृढ बनाउने, नयाँ सफ्टवेयर तथा प्रणाली विकास गर्ने र सेवामा देखिने प्राविधिक जटिलता समाधान गर्ने काममा उनी सक्रिय छन्।
बैंकका डिजिटल सेवाहरू प्रयोगकर्ता–मैत्री, सुरक्षित र सहज बनाउने उद्देश्यले विभिन्न प्रविधि तथा प्रणालीको विकास र व्यवस्थापनमा आफूले सहयोग पुर्याउँदै आएको केदारले जानकारी दिए।
'डेटा सुरक्षित राख्ने, फिचरहरू डेभलप गर्ने काम गर्छु,' उनले भने।
सन् २०१३ मा डिभी भिसा (डाइभर्सिटी) मा अमेरिका गएका केदार मेरिल्यान्डको बाल्टिमोर गए। त्यहाँ उनका आफन्त बस्थे। उनले त्यहाँ तुरून्तै काम थाले र केही समय पढाइभन्दा काममै केन्द्रित भए।
अमेरिका जाँदा लागेको ऋण तिर्न करिब दुई वर्ष निरन्तर काम मात्रै गरेको केदार बताउँछन्।
'कामको अनुभव थिएन। ग्यास स्टेसन, लिकर (मदिरा) स्टोर र ग्रोसरी स्टोरमा क्यासियरको काम गर्थेँ,' उनले भने, 'पछि जुत्ता पसलमा म्यानेजर पनि भएँ।'
दुई वर्षपछि उनले बाल्टिमोर सिटी कम्युनिटी कलेजमा काम गरे। करिब डेढ वर्ष त्यहाँ काम गरेपछि मोर्गन स्टेट युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक तह पूरा गरे। उनले पढ्दै करिब डेढ वर्ष राइड सेयरिङ कम्पनी उबर पनि चलाए।
पढाइ सकिएपछि केदार बैंकिङ क्षेत्रमा प्रवेश गरे। उनी सुरूआतमा प्रोग्राम एनालिस्टका रूपमा कार्यरत थिए। पछि पदोन्नति हुँदै हाल बैंकमा सफ्टवेयर इन्जिनियरका रूपमा काम गर्छन्।

यसबाहेक उनी नेपाली समुदायलाई फेसबुक मनिटाइजेसनको काममा सघाउँछन् पनि।
फेसबुकले क्रिएटर, भिडिओ निर्माता वा पेज सञ्चालकलाई उनीहरूले पोस्ट गरेको सामग्रीबाट आम्दानी गर्न दिएको सुविधालाई मनिटाइजेसनका रूपमा बुझिन्छ।
यो सुविधा सक्रिय भएपछि भिडिओ, रिल्स, लाइभ वा अन्य कन्टेन्ट, तिनमा देखाइने विज्ञापन, बोनस वा फ्यान सब्सक्रिप्सन मार्फत पैसा कमाउन सकिन्छ। आम्दानी बैंक खाता वा अन्य भुक्तानी माध्यममार्फत प्राप्त गर्न सकिन्छ। नेपालमा पनि यो सुविधा छ।
उनका अनुसार मनिटाइजेसनका लागि पेज वा प्रोफाइलले फेसबुकका नियम, न्यूनतम फलोअर, भ्युज र कन्टेन्टसम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ।
केदारहरूले मनिटाइजेसन प्रक्रियामा सहयोग गर्न मोडरेटर (एमडिआर) नामको करिब एक सय जनाको समूह पनि गठन गरेका छन्, जसले मनिटाइजेसनका लागि निःशुल्क सहयोग गर्छ।
'हामीले एउटा एमडिआर टिम बनाएका छौं। उक्त समूहले फेसबुक मनिटाइजेसनका लागि सहयोग गर्छ,' केदारले भने।
यो नेपाली कन्टेन्ट क्रिएटरलाई लक्षित गरेर सञ्चालित डिजिटल प्लेटफर्म हो। यसले फेसबुक मनिटाइजेसनसँग सम्बन्धित प्रशिक्षण पनि दिन्छ।
मनिटाइजेसनका लागि सहयोग चाहिने कन्टेन्ट क्रिएटरहरू फेसबुक लाइभमा जोडिन सक्छन्। समूहका व्यक्तिहरूले दैनिक नेपाली समय अनुसार साँझ साढे ७ बजेदेखि साढे ९ बजेसम्म फेसबुक लाइभ गरेर सहजीकरण गर्छन्।
आइतबार र शनिबार केदार आफै लाइभमा बस्छन्।
'फेसबुक मनिटाइजेसन भयो भने आम्दानी गर्न सकिन्छ। आफूले जानेको कुरा किन नसिकाउने भनेर हामीले यो समूह गठन गरेका हौं,' उनले भने।
फेसबुक मनिटाइजेसनका लागि सबभन्दा पहिले प्रयोगकर्ताले अरूका सामग्री हटाउनुपर्ने हुन्छ। त्यसपछि प्रोफाइल प्रोफेसनल मोडमा परिवर्तन गरी आफ्नै मौलिक कन्टेन्ट निरन्तर रूपमा पोस्ट गर्नुपर्छ।
अरूको सामग्री सेयर गर्दा पनि हिंसा, हत्या वा आतंक फैलाउने खालका गर्न हुँदैन। कसैले रिपोर्ट गरेको सामग्रीबारे बुझ्न फेसबुक सेटिङमा गएर सपोर्ट र एक्टिभिटी सेक्सनमा हेर्न सकिने उनले बताए।
'केही व्यक्ति मनिटाइजेसन भए पनि बैंक अकाउन्ट सेटअप गर्न जान्दैनन्,' केदारले भने, 'उनीहरूलाई अमेरिकी मापदण्ड अनुसार सेटअप गर्न सिकाउँछौं।'
निरन्तर मौलिक कन्टेन्ट उत्पादन गर्दै जाने हो भने करिब ४/६ महिनामा मनिटाइजेसन हुने उनको अनुभव छ।
सन् २०२२ मा फेसबुक मनिटाइजेसन भएपछि केदार यसतर्फ सक्रिय भएका हुन्।
'म नेपालमा हुँदा कविता लेख्थेँ र वाचन गरेर फेसबुकमा हाल्थेँ। फेसबुक मनिटाइजेसनबारे अमेरिका आएपछि थाहा भयो,' उनले भने, 'सुरूमा त वास्तै गरिनँ। पछि अरूको सामग्री हटाएर आफ्नै कन्टेन्ट हाल्न थालेँ।'