रोल्पामा हावाहुरीले ढालेको रूखले लागेर दुई जना महिलाको मृत्यु भएको छ।
थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रूजु झाँक्रीको घटनास्थलमै र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्रीको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुनिल थापा नेपालीले बताए।
मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा मंगलबार बिहान साढे २ बजेतिर बाटोमै मृत्यु भएको थियो।
उनीहरू दुबै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए।
बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी पौने ८ बजेतिर हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट उतिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
रूजुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर अवस्थाकी मनबुजीलाई उपचारका लागि थवाङ आधारभूत अस्पतालमा पुर्याइएको थियो। उनलाई त्यहाँबाट थप उपचारका लागि कास्कीको पोखरातर्फ लाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता नेपालीले बताए।
रूख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी प्रमुख प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा बेलुकी सवा ८ बजेतिर प्रहरी घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएको थियो।
थवाङका प्रहरी प्रमुख बगालेका अनुसार मृतकमध्ये ६० वर्षीया रूजु झाँक्री नाताले सासू हुन् भने ५० वर्षीया मनबुजी झाँक्री बुहारी हुन्।
यी सासू बुहारी वीरभद्रकी शिक्षिका नाताले भतिजी पर्ने वरमाया बुढा बिरामी भई थवाङ आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेको हुँदा उनको स्वास्थ्य अवस्था बुझ्न र सान्त्वना दिन अस्पताल पुगेर घर फर्किँदै थिए।
घर फर्किने क्रममा चलेको हावाहुरीपछि ढलेको ठूलो उतिसको रूखले दुबै जनालाई च्यापेपछि दुबै जनाको मृत्यु भएको प्रहरी निरीक्षक बगालेले बताए।