वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको रातो खोलसहितको लालपुर्जा हातमा पाएपछि बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारका ८७ वर्षीय टेक बहादुर रोकाहाको खुसीको सीमा रहेन।
६ दशकदेखि सेमलारमा बसोबास गर्दै र जग्गा भोगचलन गर्दै आएका टेक बहादुरको मनमा लालपुर्जा पाउँछु भन्ने आशा मरिसकेको थियो।
केही दिन पहिले नापी कार्यालय र भूमि समस्या समाधान आयोग रूपन्देहीसँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाले गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्ने भन्ने सुनेपछि टेकबहादुर लौरो टेक्दै वडा कार्यालय पुगेका थिए।
जीवनको उत्तराद्र्धमा भए पनि हातमा लालपुर्जा पाएपछि केहीबेर उनी खुसीले बोल्नै सकेनन्।
दुर्गाप्रसादले हातमा लिएको लालपुर्जालाई धेरै बेर ओल्टाई पल्टाई गरी हेरिरहे।
‘यतिका वर्ष लालपुर्जा नपाउँदा अब त पाइँदैन होला भन्ने लागेको थियो आज त म धेरै खुसी छु, ‘मर्ने बेलामा भए पनि जग्गाको मालिक भएर मर्न पाउने भएँ,’ उनले भने।
स्थानीय मनरूपा भुसाल पनि ८६ वर्षकी भइन्।
बसोबास गरेको ६० वर्षपछि उपमहानगरपालिकाले लालपुर्जा वितरण गर्ने थाहा पाएपछि मनरूपा पनि लालपुर्जा थाप्न आफै पुगेकी थिइन्।
‘आफ्नै जग्गा भए पनि लालपुर्जा नहुँदा धेरै डर थियो, अब त हातमा लालपुर्जा आयो संसार जितेजस्तो भएको छ,’ मनरूपाले भनिन्।
दुर्गा प्रसाद भुसाल सेमलारमा बस्दै आएको ६३ वर्ष भयो। उनी २०१९ सालमा पर्वतबाट बसाइँ सरेर आउँदा सेमलारको बस्ती पातलो थियो। बिस्तारै मानिसहरू बसाइँ सरेर आउने क्रम बढ्दै गयो। बस्ती पनि बाक्लो हुँदै गयो। दुर्गाप्रसादले पर्वतबाट झरेको तीन वर्षपछि २०२२ सालमा जग्गा किनेर रजिष्ट्रेसन पास गरेका थिए।
२०२२ सालमा रजिष्ट्रेसन पास गरेको जग्गा २०२८ सालमा गाउँ ब्लकमा कायम भयो। १० वर्षपछि २०३८ सालमा स्थानीय नवरत्न माविमा दर्ता भएपछि उनी छाँगाबाट खसेजस्तै बने।
आफैले पैसा हालेर किनेको जग्गा १६ वर्षपछि स्कुलमा दर्ता भएपछि दुर्गा प्रसादसँगै स्थानीय ५२ परिवार र स्कुलबीच विवाद सुरू भयो।
विवाद समाधान गर्न धेरैपटक छलफल र बैठक भए। त्यसपछि २०६४ सालमा सेमलारका ५२ वटै परिवारको जग्गा पुनःगाउँ ब्लकमै कायम गरिएको थियो। तर लालपुर्जा भने पाउन सकेनन्।
आफैले पैसा हालेर किनेको जग्गा वर्षौंसम्म जोतभोग गर्दै आए पनि लालपुर्जा पाउन नसक्दा उनीहरूले जग्गाको मालिक भएको अनुभूति गर्न सकेका थिएनन्।
गत जेठ २२ गतेदेखि लालपुर्जा वितरण सुरू गरेपछि भने उनीहरूले बल्ल जग्गाको मालिक भएको अनुभूति गरेको बताए।
‘लालपुर्जा नहुँदा कहिल्यै मनमा शान्ति थिएन। हातमा लालपुर्जा नपाइकन मरिने हो कि भन्ने चिन्ताले सताउँथ्यो,’ दुर्गा प्रसादले भने।
दुर्गा प्रसादले बस्न र उपभोग गर्न पाए पनि लालपुर्जा नहुँदा जग्गालाई बैंकमा धितो राखेर ऋण लिन नपाएपछि सम्पत्ति भएको अनुभूति नै नभएको बताए।
‘मान्छेलाई नागरिकताको महत्व जत्ति हुन्छ, जग्गाको लागि लालपुर्जा पनि त्यत्ति महत्वपूर्ण रहेछ, ‘लालपुर्जा नभएको जग्गाको महत्व नै हुँदैन,’ उनले भने।
स्थानीय गंगाप्रसाद नेपालले पनि हातमा लालपुर्जा पाएपछि धेरै खुसी लागेको बताए।
‘आफ्नै जग्गा जमिन भए पनि वर्षौंसम्म लालपुर्जा नपाउँदा भूमिहीन जस्तै पीडा सहेर बसेका थियौं, जग्गा बिक्री वितरण गर्न, बैंकमा धितो राखेर ऋण निकाल्न पाएका थिएनौं अब बल्ल सम्पत्तिको मालिक भयौं,’ उनले भने।
नेपालमा भूमि सुधार कार्यक्रम लागू गर्ने क्रममा भूमिमा हदबन्दी कायम गर्न र राजस्व संकलन गर्ने उद्देश्यले जग्गा ‘नापजाँच’ ऐन जारी गरी २०२१ सालदेखि एकसरो क्रमबद्ध कित्ता नापी सुरू गरिएको थियो।
जग्गाको नापजाँचका क्रममा भूमिको हदबन्दीमा फरक नपार्ने साना कित्ताहरू भएका बस्ती रहेका स्थानलाई ब्लकका रूपमा कायम गरी गाउँब्लक भनेर छोडिएको थियो। सेमलारमा रहेका ५२ परिवारको जग्गा पनि यस्तै प्रकृतिको हो।
आफ्नो जग्गा भएर पनि दशकौंदेखि भूमिहीन बनेका गाउँब्लकका बासिन्दालाई उपमहानगरपालिकाले जग्गाधनी पुर्जा वितरण सुरू गरेको हो। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् लामो समयदेखि गाउँब्लकमा रहेका तर पुर्जा पाउन नसकेका परिवारलाई पुर्जा वितरण गरिएको भए पनि सेमलारका ५२ घरपरिवारले लालपुर्जा पाउन सकेका थिएनन्। तिनैमध्ये ४२ परिवारलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ५०–६० वर्षदेखि बसोबास गर्दै आए पनि लालपुर्जाविहीन रहेका ४२ परिवारलाई लालपुर्जा वितरण गर्दै लालपुर्जा पाउन बाँकी रहेका अरूलाई पनि छिट्टै लालपुर्जा दिने बताए।
उनले बुटवलका अरू धेरै स्थानमा नापजाँच भएर पनि लालपुर्जा वितरण गर्न बाँकी रहेको उल्लेख गर्दै सबैलाई छिट्टै नै पुर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताए।
‘अहिले पनि बुटवलभित्र लालपुर्जाविहीन क्षेत्रको नापजाँच भइरहेको छ, नापजाँच पछि प्रक्रिया पूरा गरेका स्थानको लालपुर्जा दिने गरी काम अगाडि बढाइरहेका छौं,’ उनले भने।
नगर प्रमुख पाण्डेयका अनुसार गाउँब्लक जग्गाको लालपुर्जा वितरणको लागि उपमहानगरपालिकाले नापी कार्यालयसँग समन्वय गर्दै नापजाँचको काम गरिरहेको छ।
‘नापजाँच गर्न बाँकी रहेका क्षेत्रमा नापजाँच गर्न लाग्ने सबै खर्च उपमहानगरपालिकाले जुटाउँछ, वडा कार्यालयले नापजाँचको लागि नापी कार्यालयलाई सिफारिस गर्छ,’ उनले भने।
बुटवलका वडा नं. ११ र १४ देखि १९ सम्मका वडाहरूमा जति पनि गाउँब्लक र नापी छुटका जग्गाहरू छन्। ती सबै जग्गाको नापी गर्दा लाग्ने सबै रकम बुटवल उपमहानगरपालिकाले बेहोर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
उनले केही स्थानमा बसोबास र पुर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पुनःनापजाँच गरी पुर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाएको बताइन्।
उपप्रमुख अर्यालले कतिपय स्थानमा जग्गाधनीहरूका बीचको सामान्य विवादका कारण पनि गाउँब्लक जग्गाको लालपुर्जा वितरणमा समस्या भएकोले सानातिना विवाद समाधान गर्नतिर लाग्न सुझाव दिइन्।
‘एक जनाको जग्गामा विवाद देखियो भने पनि त्यो टोलभरिकै जग्गाको नापजाँच र लालपुर्जा वितरणमा समस्या हुने गरेको छ,’ उपप्रमुख अर्यालले भनिन्।
नापी कार्यालय रूपन्देहीका प्रमुख सुग्रिब यादवले रूपन्देहीमा अहिलेसम्म गाउँब्लकको समस्या रहेका ६ हजार परिवारलाई लालपुर्जा वितरण गरिसकेको भए पनि अझै १० हजार बढीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको बताए।
‘रूपन्देहीमा गाउँ ब्लकको समस्या धेरै छ, लालपुर्जा वितरण गर्न बाँकी गाउँ ब्लकमा रहेका १० हजार बढी रहे पनि एक वर्षभित्रै लालपुर्जा वितरण गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने।
भूमि समस्या समाधान आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाले गाउँ ब्लकसँगै भूमिहीन सुकुम्बासीहरूलाई पनि लालपुर्जा वितरण गर्ने गरी जग्गाको नापजाँच गर्ने र राजस्व दाखिलाको लागि सूचना जारी गर्ने काम भइरहेको बताए।