मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका कारागारबाट ९ सय जनाभन्दा बढी कैदीबन्दी भागेका छन्।
सप्तरीको राजविराजस्थित कारागारबाट १ सय ५ जना, रौतहटको गौर कारागारबाट २ सय ६४ जना, महोत्तरीको जलेश्वर कारागारबाट ५ सय ७५ जना र वीरगन्ज कारागारबाट १ जना कैदीबन्दी भागेका हुन्।
यसमध्ये रौतहटमा ३५ र सप्तरीमा २७ गरी ६२ जना कैदीबन्दी फिर्ता ल्याइएको सम्बन्धित जिल्लाका प्रशासन कार्यालयले जनाएका छन्।
सीमावर्ती जिल्लामा रहेका कारागारबाट निस्केका कैदीबन्दी भारततिर भागेको आशंका छ। कारागारभित्रै आन्दोलन, आगजनी र तोडफोड गरी उनीहरू भागेका थिए।
मधेस प्रदेशका ८ जिल्लामध्ये धनुषा र बारा बाहेकका ६ वटा जिल्लामा कारागार छ।
मधेस प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाशंकर चर्तुवेदीले प्रदेशमा रहेका कतिपय कारागारमा उपद्रो मच्चाएर कैदीबन्दीहरू भागेको जानकारी दिए।
'कारागारमा उपद्रो मच्चाएर भाग्ने मानसिकता कैदीबन्दीमा देखिएको छ। सप्तरी, जलेश्वर र गौरको कारागारबाट केही भागेका छन्। वीरगन्जको बाल सुधार गृहबाट पनि बाहिर गएका छन्,' उनले भने, 'सप्तरी र रौतहटमा केहीलाई समातेर फिर्ता ल्याएका पनि छौं। अहिले सबै कारागारको स्थिति ठीक छ।'
मंगलबारको आन्दोलन क्रममा ललितपुरको नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि बाहिर निस्केका थिए। उनी निस्केसँगै देशका विभिन्न कारागारबाट कैदीबन्दीहरू भाग्ने प्रयास गरेका थिए।
वीरगन्ज कारागारमा तनाव, सुरक्षाकर्मीको गोली लागेर ४ जना घाइते
वीरगन्ज कारागारमा रहेका कैदीबन्दीले पर्खाल फोडेर बाहिर निस्किने प्रयास गरेका थिए। उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरीले बल प्रयोग गरेर रोकेका थिए।
कैदीबन्दीहरूले प्रदर्शन गर्नुका साथै सुरक्षाकर्मीलाई ढुंगा हानेका थिए। सुरक्षाकर्मीले अश्रुग्यास र गोली चलाएका थिए।
गोली लागेर घाइते भएका ४ जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये दुई जनालाई उपचारपछि कारागारमै ल्याइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
'कैदीबन्दी जेल फोडेर निस्केका थिए। तर बल प्रयोग गरेर भित्र पठाएका छौं,' उनले भने, 'अहिले स्थिति नियन्त्रणमा छ।'
एक हजार जना क्षमता भएको कारागारमा १३ सय ७ जना कैदीबन्दी थिए। एक जना कैदीबन्दी राति नै भाग्न सफल भएका थिए। त्यसपछि अन्य कैदीबन्दी बाहिर निस्कसने प्रयास गरेको कारागार प्रशासनले जनाएको छ।
राति ११ बजेदेखि नै नेपाली सेना जेलको सुरक्षाका लागि खटिएको थियो।
कारागार कार्यालय वीरगन्जका शाखा अधिकृत रूपक मण्डलका अनुसार बिहान साढे ६ बजेतिरबाट स्थिति बिग्रेको थियो।
वीरगन्ज कारागार
सप्तरीबाट १ सय ५ कैदी भागे, २७ जना फिर्ता
सप्तरीको राजविराजस्थित सप्तरी कारागारबाट १ सय ५ कैदीबन्दी भागेका छन्। सुरक्षाकर्मीले २७ जनालाई फिर्ता ल्याएका छन्।
सुरक्षाकर्मीले समातेर ३१ जनालाई फिर्ता ल्याएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टुवराज पोखरेलले जानकारी दिए। तर तीमध्ये ४ जना झुम्का कारागार, सुनसरीबाट भागेका कैदीबन्दी हुन्।
सप्तरी कारागारमा ३ सय ९५ जना कैदीबन्दी राखिएका थिए।
दिउँसो थुनुवाहरूले कारागारभित्र आगजनी गरेका थिए। सुरक्षाकर्मीहरू आगो निभाउन लागेको मौका छोपेर उनीहरू भागेका थिए।
'भागेका कैदीबन्दीमध्ये केहीलाई नियन्त्रणमा लिन सफल भएका छौं। बाँकीको खोजी गरिरहेका छौं,' सिडिओ पोखरेलले भने।
गौरबाट भागेका ३५ जना फिर्ता
रौतहटको सदरमुकाम गौरस्थित कारागारबाट २ सय ६४ जना कैदीबन्दी भागेका छन्। उनीहरूमध्ये ३५ जनालाई समातेर फिर्ता ल्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काका अनुसार २ सय ९१ जना कैदीबन्दीमध्ये २७ जना मात्रै भाग्न सकेका थिएनन्। थप ३५ जनालाई समातेर फिर्ता ल्याएपछि कैदीबन्दीको संख्या ६२ पुगेको छ।
'भागेका कैदीबन्दीलाई खोजेर समात्दै ल्याउँदै पुनः कारागारमा राख्दै गरेका छौं,' उनले भने।
गौर कारागार
जलेश्वर कारागार खाली
महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ ७ बजेतिर एक जना बाहेक सबै कैदीबन्दी भागेका छन्। ५ सय ७६ कैदीबन्दी रहेको कारागार खाली गर्न बाहिरबाट समेत प्रदर्शनकारी पुगेका थिए। त्यसपछि कैदीबन्दी कारागारको ढोका तोडेर भागेका थिए।
बाहिरबाट ४/५ सयको संख्यामा प्रदर्शनकारी कैदीबन्दी छुटाउन पुगेपछि स्थिति बिग्रिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिए।
'बाहिरबाट ४/५ सय आन्दोलनकारीको जुलुस पुगेको थियो। हामीले सुरक्षा दिइरहेका थियौं। तर भित्रबाट पनि विद्रोह भयो। ढोका तोडेर नै भागे,' उनले भने।
उनका अनुसार कैदीबन्दीलाई स्वेच्छिक रूपमा फिर्ता आउन कारागार प्रशासनले आग्रह गरेको छ। साथै सुरक्षा निकाय परिचालन गरेर फरार भएका कैदीबन्दीको खोजतलास भइरहेको छ।
सर्लाहीको मलंगवा कारागारका कैदीबन्दीले आगजनी गरेर भाग्न खोजे पनि सुरक्षाकर्मीले रोकेका छन्। मलंगवा कारागारमा विवादित धर्मगुरू रामबहादुर बम्जन लगायतका कैदीबन्दी छन्।
बाल सुधार गृहबाट ६८ जना फरार
बाल व्यावसायिक अपराध गरेको अभियोगमा बाल सुधार गृह वीरगन्जमा राखिएका ६८ जना फरार भएका छन्। सुधार गृहको झ्याल उक्काएर र छतबाट हाम फालेर उनीहरू भागेका थिए।
भागेकामध्ये १५ जनालाई समातेर पुनः गृहमा फर्काइएको तर अझै ६८ जना फरार रहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।