‘खाना, नाना, छाना मानिसका आधारभूत आवश्यकता हुन्। खाना अलिदिन नखाए पनि हुन्छ तर नाना नभई हुँदैन,’ वीरगञ्जकी बुटिक व्यवसायी ३९ वर्षीया ज्योति श्रेष्ठ भन्छिन्।
मकवानपुरको हेटौंडामा जन्मिएकी उनले पढ्दै गर्दा सिलाई कटाई सिकिन्, टेलरिङको कामसँगै तालिम दिन थालिन्। युवा उमेरमा काम गर्दै जाँदा अवसर आउँदै गयो। मकवानपुर उद्योग वाणिज्य संघको सिफारिसमा भारतको अहमदावादमा ‘फेसन डिजाइन’को आधारभूत र एडभान्स ६/६ महिने तालिममा जाने मौका पाइन्।
०६५ सालमा विवाह भएपछि वीरगञ्ज आइन्। ०६८ सालदेखि आफ्नै ‘करसिभ क्रियशन’ व्यवसाय सुरू गरिन्। त्यसलाई दर्ता प्रक्रिया पूरा गर्न एक वर्ष लाग्यो। व्यवसायले गति लिँदै गर्दा ०७२ को भूकम्प र मधेस आन्दोलनले नराम्ररी प्रभावित बनायो। परिस्थिति प्रतिकूल हुँदा पनि उनले व्यवसायलाई निरन्तरता दिइन्।
‘म लाखौं खर्च गरेर डिजाइनर भएको थिइनँ, राज्यले अवसर दिएर बनेको हुँ,’ उनले भनिन्, ‘यही क्षेत्रमा राम्रो गर्नुपर्छ भनेर लागिरहन्छु।’
औद्योगिक व्यवसाय प्रतिष्ठान मार्फत प्रदान गरिने स्टार्टअप उद्यम कर्जाको बारेमा जानकारी पाएपछि उनले प्रस्ताव दिने सोच बनाइन्।
विभिन्न कागजी प्रक्रिया पूरा गरेर प्रस्ताव पेस गरिन्, प्रस्तुतीकरणका लागि छनोट भयो। अन्तर्वार्तामा 'यस्तो उद्यम गर्ने धेरै छन् तपाईंले के फरक दिनुहुन्छ?' भनेर सोधियो ?
ज्योतिले म फोटो हेरेर डिजाइन बनाउन सक्छु भनिन्, उनलाई नमूना डिजाइन बनाउन लगाइयो। त्यो सम्बन्धित व्यक्तिलाई फिट भयो। स्टार्टअप उद्यम कर्जाका लागि उनी छनोट भइन्।
‘२० लाख रुपैयाँ ऋण मागेको थिएँ, १२ लाख रुपैयाँ स्वीकृत भयो, व्यवसाय विस्तार गर्दैछु, ’ उनले भनिन्, ‘आकर्षक डिजाइनका कपडा सहुलियत दरमा उपलब्ध गराउने पसल कात्तिकबाट सञ्चालनमा आउँछ।’
फोटो हेरेर फिटिङ डिजाइन बनाउने क्षमताका कारण उनलाई बजारको समस्या छैन। उनले तयार गरेको कपडा अमेरिका, अष्ट्रेलिया, जापान, दुबईमा पनि जान्छ। १ लाख पुँजीबाट सुरू गरेको व्यवसाय ३० लाख जतिको बनेको उनी बताउँछिन्। मासिक आम्दानी पनि राम्रो छ।
‘५० हजारदेखि १ लाख ५० हजारसम्म आम्दानी हुन्छ,’ श्रेष्ठ भन्छिन्।
घरेलु तथा साना उद्योग कार्यालय पर्साबाट उत्कृष्ट महिला उद्यमी र राष्ट्रपतिको हातबाट १ लाख रुपैयाँको महिला उद्यमी पुरस्कार उनले पाइसकेकी छन्।
वीरगञ्जकै यशोदा ब्याग एण्ड रेडिमेडले स्टार्टअप उद्यम कर्जा वापत ८ लाख रुपैयाँ पाएर व्यवसाय विस्तारमा लगानी गरेको सञ्चालिका यशोदा गजुरेलले जानकारी दिइन्।
पछिल्लो दुई आर्थिक वर्षमा ७ सय ६५ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा पाएका छन्। ती परियोजनाले औद्योगिक व्यवसाय प्रतिष्ठान मार्फत् वितरण गरिने स्टार्टअप उद्यम कर्जा प्राप्त गरेका हुन्।
प्रतिष्ठानका अनुसार आर्थिक वर्ष ०८०/८१ म १ हजार ६ सय ५५ वटा परियोजनाले कर्जाका लागि प्रस्ताव गरेका थिए। जसमध्ये १ सय ८३ वटा परियोजना योग्य सूचीमा परेकोमा १ सय ६५ वटाले कर्जा प्राप्त गरेका थिए। उक्त आवमा १७ करोड ३० लाख ५० हजार कर्जा लगानी र निक्षेप तथा कर्जा सुरक्षण कोषमा ४ करोड ३२ लाख ६२ हजार ५ सय समेत गरी २१ करोड ६३ लाख १२ हजार ५ सय रुपैयाँ खर्च भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा ५ हजार १ सय ५५ वटा परियोजनाले कर्जाका लागि प्रस्ताव पेश गरे। जसमध्ये ६ सय ६१ वटा परियोजनालाई स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएको थियो, जसमध्ये ६ सय वटा परियोजनामा ८८ करोड रुपैयाँ लगानी भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले औसतमा एउटा परियोजनामा ५ जनाले रोजगारी पाइरहेको जानकारी दिए।
उनका अनुसार स्टार्टअप उद्यम कर्जा लगानी फिर्ता आउने क्रम सुरू भइसकेको छ।
हालसम्म ३ करोड २० लाख रुपैयाँ फिर्ता भइसकेको छ।
‘स्टार्टअप उद्यम कर्जा प्राप्त गरेका परियोजनाले नाफा कमाइरहेका छन्,’ निर्देशक गुप्ताले भने।
कसरी पाइन्छ स्टार्टअप उद्यम कर्जा?
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम सञ्चालन गर्न स्टार्ट अप कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको थियो। नविनतम प्रविधि एवं सोचको प्रयोग गरी कुनै वस्तु वा सेवाको उत्पादन, सञ्चालन वा वितरण प्रक्रियामा स्तरोन्नतिको सम्भावना रहेको उद्यमलाई कार्यविधि अनुसार उद्यम कर्जा उपलब्ध गराउने गरिएको छ।
कुल चुक्ता पुँजी २ लाख रुपैयाँदेखि १० लाखसम्म भएको, उद्यमको कुल कारोबार वार्षिक २ करोड भन्दा बढी नभएको, स्थिर पुँजी (घर जग्गाको मूल्य बाहेक) २ करोड भन्दा बढी नभएको उद्यमलाई कर्जा प्रदान गरिन्छ। त्यसका लागि कृषि तथा पशुपंक्षी, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन, सुरक्षित यातायात तथा पारवहन सेवा लगायत १६ वटा विषयगत क्षेत्रहरू समेत तोकिएको छ।
कर्जा प्राप्तिका लागि स्टार्टअप उद्यमीले प्रतिष्ठानले परियोजना प्रस्ताव आह्वान गरेपछि आवेदन दिनुपर्छ। मूल्यांकन समितिले प्रस्ताव अध्ययन गरेर योग्य सूचीमा राख्छ। त्यसपछि प्रस्तुतीकरणका लागि सूचना आह्वान गर्छ। प्रस्तुतीकरण समेतको आधारमा मूल्यांकन समितिले प्रदान गरेको औसत अंक र बैंकको क्रेडिट अप्राइजल समेत जोडेर ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने परियोजना कर्जाका लागि छनौट हुन्छ। उसले राष्ट्रिय वाणिज्य बैंक मार्फत ३ प्रतिशत व्याजदरमा सहुलियत कर्जा प्राप्त गर्छ। कर्जा प्रवाह गर्दा बैंकले उद्यमीको परियोजनालाई नै धितोको रूपमा राख्छ।