अवधेश राय असिन पसिन छन्, मध्याह्नको समय, टाउकैमा चर्को घाम छ। त्यसले उनलाई शिथिल बनाएको छैन।
न पानी पिएका छन्, न केही खान भ्याएका छन्, मूल्य सोध्ने ग्राहकलाई जोडीको १००, ५० र २५ भनेर देखाउँछन्।
भाउ मिलेपछि मोटरसाइकल, स्कुटर, रिक्सा, इ-रिक्सा होस् वा गाडी ग्राहकको साधनमा राखिदिन्छन्। पैसा लिन्छन्, मुस्कुराउँदै खल्तीमा राख्छन्।
अवधेश पहिलोपटक वीरगञ्जमा केराको खम्बा बिक्रीका लागि आएका हुन्। लक्ष्मी पूजाका लागि केराको खम्बा बिक्री हुन्छ भन्ने उनलाई थाहा थियो।
खेती नगरे पनि चाडपर्व मान्ने खर्च निस्कन्छ भन्ने सोचेर २५ रुपैयाँ प्रतिवटा किनेर बिहानै वीरगञ्ज आइपुगेका थिए।
-1760949175.jpg)
तर उनले सोचेजस्तो कमाइ भएन।
‘५५० वटा किनेको थिएँ, ५० वटा जति टुट्छ होला भन्ने थियो, सबै एकैनासको पनि थिएन,’ उनले भने, ‘गाउँमै एक जनाले १९ हजार दिएका थिए, ७ हजार ५ सय रूपैयाँ ट्याक्टर भाडा तिरेर वीरगञ्ज ल्याएँ, दुई जना स्टाफलाई पनि खर्च दिनुपर्छ। २/४ हजार बच्छ होला, त्यति हो।’
अनुमान गरेको भन्दा धेरै काम नलाग्ने निस्केको तथा २५ रुपैयाँ जोडीमा बिक्री गर्नुपर्दा सोचे अनुसार आम्दानी नभएको उनले बताए।
रौतहटकै गढीमाई नगरपालिका ७ धर्मपुरका दिनेश राय यादव पनि बिहान २ बजेतिर वीरगञ्ज आएका थिए। ६ हजार रुपैयाँ प्रति ट्याक्टर भाडा तिरेर दुई ट्याक्टर केराको खम्बा ल्याएका थिए।
केराको खम्बा खरिद गरेर भने ल्याएका होइनन्। उनी आफैले खेती गरेका छन्।
‘५ बिगाहामा केरा लगाएको छु, खम्बा बेच्दा फाइदा हुन्छ,’ उनले भने, ‘एक ट्याक्टरबाट २२ हजार आम्दानी भयो, अर्को ट्याक्टरको पनि सक्किनै लागेको छ।’
छठ र लक्ष्मीपूजामा केराको खम्बा बिक्री हुन्छ। लक्ष्मी पूजाका लागि रौतहटबाट दर्जनौं ट्याक्टर केराको खम्बा वीरगञ्ज आइपुग्छन्।
वीरगञ्जमा पसल व्यवसाय गर्नेहरू तथा सर्वसाधारणले खरिद गर्ने उनको भनाइ छ।
लक्ष्मीलाई आमन्त्रण गर्न दुई वटा केराको खम्बा खडा गरेर प्रवेशद्वार बनाइन्छ। केरा हिन्दू संस्कारमा पवित्र बोट हो। यसका पात, फूल र फल सबै पूजामा प्रयोग हुन्छ।
केराको पातमा भोजन चढाउने, बोटले पूजा मण्डप साजाउने, काँचो तथा पाकेको केरा प्रसादको रूपमा चढाउने गरिन्छ।
भोजपुरिया समाज कृषिमा आधारित र प्रकृति पुजक हो। केराको बोट सजिलोसँग उब्जिने र आँगनमा सजिलै हुर्कन्छ। त्यसैले स्थानीय र उपलब्ध वस्तुलाई देवीको प्रतीकात्मक स्वरूपमा प्रयोग गर्ने परम्परा बसकेको अनुमान गरिन्छ।
-1760949173.jpg)
तसर्थ यस क्षेत्रमा केराको खम्बाको प्रयोग अनिवार्य जस्तै मानिन्छ। सोही कारण बर्सेनि रौतहटका व्यापारीहरूले वीरगञ्जमा ल्याएर केराको खम्बा बिक्री गर्ने गरेका छन्। वीरगञ्जमा २० रुपैयाँदेखि २ सय रुपैयाँसम्म जोडीमा बिहीबार बिहान केराको खम्बा किनबेच भएको छ।
कर्मकाण्डी ब्राम्हण समाज वीरगञ्जका उत्तमदेव उपाध्याय केराको खम्बा मंगलको वस्तु भएको बताउँछन्। धनकी देवी लक्ष्मीको स्वागतका लागि द्वारमा राख्ने चलन भोजपुरी समुदायमा रहेको उनको भनाइ छ।
‘केराको खम्बा सबैजसो शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ, लक्ष्मी प्रवेश गर्दा कुनै बिघ्न बाधा नहोस भनेर केराको खम्बा गाडिएको हो,’ उनले भने, ‘हरियो वनस्पतिहरूमा केरालाई मंगलको चिज मानिन्छ, अन्य शुभ कार्यमा समेत यसको प्रयोग हुन्छ।’
उनले लक्ष्मीको स्वागतका लागि झिलिमिली बत्ती बाल्ने, घर आँगन सरसफाइ गर्ने, अष्टदल, रंगोली बनाउने चलन समेत मधेसमा रहेको बताए।
ट्राफिकले दुःख दिएको गुनासो
वीरगञ्जमा केराको खम्बा बिक्री हुने गरेको भए पनि ल्याउन निकै कठिन छ। किसान एवं व्यवसायीहरूले बाटोमा ट्राफिक प्रहरीले रकम माग्ने गरेको गुनासो गरेका छन्।
बिहान बिक्रीका लागि अघिल्लो दिन नै काटेर ट्याक्टरमा लोड गरी वीरगञ्ज ल्याउनुपर्ने हुन्छ। राति सदरमुकाम गौर तथा अन्य क्षेत्रबाट वीरगञ्ज आउँदा ट्राफिकले रकम माग्ने गरको उनीहरूको गुनासो छ।
गौर टिकौलियाका राकेश चन्द्रवंशी एक हजार ज्याला पाउने भएपछि मजदुरीका लागि वीरगञ्ज आए। केरा ल्याउने क्रममा बाटोमा ट्राफिक पुलिसलाई सय/सय रूपैयाँ दिँदै आउनुपरेको सुनाए।
-1760949171.jpg)
भतिज धनेश्वर रायलाई सघाउन काका भाइराम राय आएका छन्। उनीहरूको परिवारले १६ ट्याक्टर केरा वीरगञ्ज ल्यायो।
‘बाटोमा गाडी रोकेर ट्राफिकले सय रुपैयाँ, ५० रुपैयाँ देऊ, हैन भने चिया ल्याइदेऊ भन्छ,’ उनले भने, ‘एकातिर धान डुबेर नोक्सान भएको छ, केरा बेच्न ल्याउँदा यस्तो हालत छ।’
बिहान १५० रुपैयाँ जोडीमा दिएको केराको खम्बालाई दिन ढल्दै गएपछि एक सय रुपैयाँमा बिक्री गरेको उनले बताए।
-1760949171.jpg)
-1760949173.jpg)
-1760949175.jpg)