छठ पर्व नजिकिएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेको छ। सडकमै छठको लागि बजार लागेको छ। किनकी दसैं, तिहार होस् वा छठ पर्व वीरगञ्ज सडकमै अस्थायी बजार लाग्ने गर्छ।
वीरगञ्जमा सामान बेच्ने र किन्नेको हुल छ। बजारमा दिनभर भोजपुरी भाषामा व्यापारी र ग्राहकबीच मोलतोल गरेको देखिन्छ।
सर्लाही बरहथवाबाट अशोककुमार महतो तीन जना मिलेर वीरगञ्ज बजारमा पहिलोपटक ३५ क्विन्टल उखु बेच्न आएका छन्।
‘उखुको माग बढी हुन्छ भनेर सुनेको थियौं, त्यसैले उखु बेच्न ल्यायौं,' उनले भने, 'घाटानाफा जे भए पनि तीन जनाकै भागमा पर्छ।'
अशोकका अनुसार उनीहरूले प्रति क्विन्टल एक हजार रूपैयाँमा ३५ क्विन्टल उखु किनेर ल्याएका हुन्।
शनिबार नै वीरगञ्जमा उनीहरूले उखु झारेर आइतबारदेखि ५० रूपैयाँ जोडीमा उखु बेचिरहेका छन्। कसैले उखुको भाउ मिलाउन आग्रह गर्दा उनी जति लिए पनि एकै दाम रहेको भन्दै जवाफ दिन्छन्।
'१४ वटा लिनुस वा २८ वटा, जोडीको ५० रूपैयाँ नै पर्छ,' भाउ सोध्ने ग्राहकलाई उनी भन्छन्।
अर्कातर्फ वीरगञ्ज नगवाका पवनकुमार जयसवालको जोस जाँगर पनि कम्तिको छैन।
सधैंभरी उखु जुस बेच्ने पवन छठको मौकामा सिंगो उखु बेचिरहेका छन्।
कसैले एकैकिसिमको उखु नपरेको गुनासो गरे उनी हँसिलो अनुहार बनाउँदै ग्राहकलाई 'सबै औंला बराबर हुन्छ र? भर्खर काटेर ल्याएको हो ताजा छ' भन्दै फुरूङ्ग पार्छन्।
'साथीको खेतमा उखु थियो, छठमा बेच्न ल्याएको हो,' पवनले भने, 'बिकेन भने उखुको जुस बनाएरै भए पनि बेच्छु भन्ने आँट छ।'
छठ पर्व प्रकृति पुजनको पर्व हो। यसमा प्रसादको रूपमा चढाइने सबै कृषि उत्पादन नै हुन्छ। त्यसमध्ये उखु एक अनिवार्य सामाग्री हो। कोशी भर्नेहरूका लागि अझ बढी उखु चाहिन्छ।
बजारमा छठ पर्वमा कोशी भर्न र अर्घ दिन आवश्यक पर्ने सबै वस्तु बेच्न राखिएको छ।
वीरगञ्ज १५ लक्ष्मणवाका राम विनय साह छठ पूजाका सामाग्री महँगो भएको गुनासो गर्छन्।
'गाउँघरमा पूजाको लागि भनेर सित्तैमा दिने सामाग्रीहरू सहरमा किन्नुपर्छ,' उनले भने, 'सामान किन्दा मात्रै १०/१२ हजार खर्च लागिसक्यो।'
अर्कातर्फ डोम समुदाय बाँसको चोयाबाट बनाएका सामाग्री बिक्री गर्न व्यस्त छन्। उनीहरू छठ पर्वका लागि बाँसका सामाग्री बेचेर राम्रो आम्दानी गर्ने गरेका छन्।
छठमाता तथा सूर्यदेवलाई बाँसबाटै बनाइएका सुफली, छउरा र छैटामा अर्घ दिनु अनिवार्य मानिन्छ। त्यसबाहेक माटोबाट बनाइएको भाँडाकुडाहरू प्रयोग हुन्छ।
वीरगञ्ज १६ नगवाका पारस मल्लीले यसवर्ष १ सय ५० वटा सुफली, डलिया, दउरा बनाएर बिक्रि गरे।
सुफली र डलिया १ सय रुपैयाँ प्रतिगोटा र दउरा ३ सय ५० रुपैयाँ प्रतिगोटामा बिक्रि गरेको उनी सुनाउँछन्।
छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जको व्यापार चलायमान भएको देखिन्छ। वीरगञ्जको मुख्य बजार क्षेत्र घण्टाघर र माईस्थान क्षेत्रका सडकमा छठका समान किनबेच गर्नेको घुँइचो लाग्छ।
वीरगञ्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान भएका छन्।
-1761487269.jpg)
-1761487269.jpg)
-1761487267.jpg)
-1761487265.jpg)
-1761487268.jpg)
-1761487268.jpg)
-1761487262.jpg)
-1761487262.jpg)
-1761487263.jpg)
-1761487267.jpg)
-1761487263.jpg)