बारामा तस्कर समूह र प्रहरीबीच भीडन्त हुँदा ७ राउण्ड हवाइ फायर भएको छ।
आइतबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्तीको टोली र तस्कर समूहको जम्काभेट भएको थियो। भारतसँग सिमाना जोडिएको बारा पचरौता नगरपालिका- ६ पकडिया चिकनी टोल जम्काभेट हुँदा तस्कर समूहले गोली प्रहार गरेको थियो। सोही क्रममा सात राउण्ड जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिए।
उनका अनुसार नम्बर नखुलेको ट्र्याक्टरमा भन्सार छलेर अवैध रुपमा समानहरू लोड गरी आउँदै गरेका अन्दाजी २५ जना तस्कर समूहसँग प्रहरीको जम्काभेट भएको थियो।
रोकेर पक्राउ गर्न खोज्दा उनीहरूलाई प्रहरीमाथि दुई राउण्ड गोली फायर भरेका थए।
‘ट्याक्टरमा अवैध सामान भित्र्याउन खोज्दै थिए, दशगजा क्षेत्रमा नै प्रहरी टोलीसँग जम्का भेट भएपछि ट्याक्टर उतै फर्काए,’ उनले भने, ‘हातहतियारसहित आएका उनीहरूले गोली चलाएपछि जवाफी फायरिङ गरेका हौं।’
उनीहरु भन्सार छलीको सामान ल्याएको ट्र्याक्टरसहित भारततर्फ भागेका थिए।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको नेतृत्वमा थप १० जनाको प्रहरी टोली घटना स्थलमा पुग्दा उनीहरू भागिसकेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरू चढेर आएको चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुइटा मोबाइल र आधार कार्ड लगायत सामानहरू बरामद गरेको जनाएको छ।