काठमाडौंको माइतीघर मण्डलमा एक सातादेखि अनसन बसिरहेकी जाजरकोटकी २८ वर्षीया युवतीले आफूलाई बलात्कार गरेको भन्दै दायर गरेको मुद्दामा यसअघि आरोपीले सफाइ पाएका थिए।
तत्कालीन प्रहरी जवान भुपेन्द्रसिंह ठगुन्नाविरूद्ध दायर मुद्दामा २०८१ पुस ३ गते जिल्ला अदालत सुर्खेतले सफाइ दिएको थियो। उनलाई के आधारमा सफाइ दिइयो भनेर हामीले यो स्टोरीमा जिल्ला अदालतको फैसला हेरेका छौं।
त्यति बेला अदालतबाट सफाइ पाएका ठगुन्नाले दोस्रो पटक पनि बलात्कार गरेको र त्यसबाट गर्भ बसेको भन्दै पीडित युवतीले २०८२ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फेरि जाहेरी दिएकी छन्।
प्रहरीले जाहेरी दर्ता गरे पनि आरोपीलाई पक्राउ नगरेपछि उनी न्याय माग्न काठमाडौंको माइतीघर मण्डलमा अनसन बस्न आएकी हुन्।
सात महिनाकी गर्भवती उनी मंसिर २५ देखि माइतीघर मण्डलमा अनसन बसेकी थिइन्। स्वास्थ्य समस्या देखिएपछि मंसिर २७ गते बेलुकीदेखि पुस ३ गते दिउँसो १ बजेसम्म उनलाई प्रसूति गृह थापाथाली राखियो। अहिले फेरि अनसन बस्न माइतीघर मण्डल फर्केकी छन्।
आरोपीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउनुपर्ने र बच्चा जन्मेपछि अधिकार सुनिश्चित गरिदिनुपर्ने उनको माग छ।
यसबीच प्रहरीले आरोपी ठगुन्नालाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर दीपक मगरातीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र ठगुन्नालाई खोज्ने काम भइरहेको जानकारी दिएका छन्।
इन्स्पेक्टर मगरातीका अनुसार आरोपी ठगुन्ना त्यति बेला सर्वोच्च अदालतको सुरक्षा इकाईमा कार्यरत थिए। विवादित भएपछि उनलाई ताप्लेजुङ सरूवा गरियो। तर उनी त्यहाँ हाजिर हुन गएनन्। त्यही भएर कोशी प्रदेश प्रहरी कार्यालयले गत कात्तिक १४ गतेफ उनलाई सेवाबाट हटाएको मगरातीले बताए। अहिले उनी फरार सूचीमा छन्।
अब हामी जिल्ला अदालत सुर्खेतले २०८१ पुस ३ गते ठगुन्नालाई के आधारमा सफाइ दिएको थियो, त्यो हेरौं।
न्यायाधीश दीपक ढकालको इजलासले सुनाएको उक्त फैसलामा ठगुन्नालाई सफाइ दिनुका चार आधार दिइएका छन्।
पहिलो, पीडित युवतीले २०८० वैशाख २ गते आफूमाथि बलात्कार भएको आरोप लगाएकी थिइन्। तर ठगुन्नाको मोबाइल ट्रयाक गर्दा त्यस दिनको लोकेसन दार्चुला देखियो। अर्थात्, उनको मोबाइल लोकेसन घटनास्थल भनिएको सुर्खेतको वीरेन्द्रनगर नभएको रिपोर्ट आयो। उक्त रिपोर्ट वरिष्ठ प्रहरी हवल्दार रमेशबहादुर सारूले बुझाएका थिए।
यसरी जाहेरवालाले किटान गरेको मिति, समय र स्थानमा प्रतिवादीको उपस्थिति नै नरहेको भन्ने पुष्टि भइरहेको अवस्थामा दाबी जायज नठहरिने अदालतको फैसला थियो।
दोस्रो, जाहेरवालाले अदालतमा बकपत्र गर्दा आरोपी ठगुन्ना कोठामा आएर पहिला जबर्जस्ती करणी गरेको र त्यसपछि सहमतिमै करणी भएको बताएकी थिइन्।
'पहिला सहमतिमा र पछि जाहेरवालाको इच्छाविपरीत गरिएको भए त्यसलाई जबरजस्ती करणी भन्न सकिने अवस्था रहन्थ्यो। तर पछि सहमतिमा करणी गरेको भनी जाहेरवालाले बकपत्र गरेबाट यसलाई जबर्जस्ती करणीको संज्ञा दिन मिल्दैन,' फैसलामा भनिएको छ।
तेस्रो, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लिखित घाउचोटहरू सात दिनभन्दा बढी वा कति पुरानो हुन् यकिन गर्न नसकिने अदालतले भनेको छ। त्यस्तै, जबरजस्ती करणीकै कारण 'कन्याजाली' च्यातिएको भनेर यकिन पनि गर्न नसकिने बकपत्र डा. तेजेन्द्र अधिकारीले अदालतसमक्ष दिएका थिए।
उनको यही बकपत्रलाई पनि अदालतले सफाइ दिने आधार मानेको छ।
चोथौ, आरोपी ठगुन्ना घटना भएको दिन दिउँसो र राति आफ्नै घरमा थिए भन्ने प्रतिवादीका साक्षी नरेन्द्रसिंह ठगुन्नाले बयान दिएका थिए। यस आधारमा उनी घटना भएको मिति र समयमा सुर्खेतमा थिएनन् र जाहेरवालासँग उनको भेट भएको होइन भन्ने अदालतको निष्कर्ष छ।
'फोनको लोकेसनबाट भुपेन्द्र सुर्खेतमा नदेखिएको र पहिले जबर्जस्ती गरी पछि सहमतिमा करणी गरेका हुन् भन्ने जाहेरवालाको बकपत्र आपसमा बाझिएकाले प्रतिवादी भुपेन्द्रसिंहलाई आरोपित कसुरबाट सफाई पाउने ठहर्छ,' फैसलामा भनिएको छ।
यसरी पीडितको अभियोगमा मागदाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिइएको फैसलामा उल्लेख छ।
युवती भने आफ्नो बयान र तथ्य तोडमोड गरिएको दाबी गर्छिन्।
उनले जिल्ला अदालत सुर्खेतको फैसला चित्त नबुझेपछि २०८१ चैत १९ गते उच्च अदालत सुर्खेतमा पुनरावेदन दिएकी थिइन्। उच्च अदालतका न्यायाधीश कृष्णलाल भट्ट र मातृकाप्रसाद भण्डारीको इजलासले २०८२ वैशाख ३० गते जिल्लाकै फैसला सदर गरेको थियो।
त्यसपछि भने पुरानो मुद्दामा के भयो भन्ने थाहा नभएको युवतीको भनाइ छ।
'दुवै अदालतले सफाइ दिएपछि न्याय पाउने आस नै मर्यो। मुद्दा के भयो भनेर हेर्नै छाडिदिएँ,' युवतीले भनिन्, 'सरकारी वकिलको कार्यालय सर्वोच्च जाने भनेको सुनेको थिएँ। तर के भयो थाहा छैन।'
पीडित युवतीका अनुसार ठगुन्नासँग उनको चिनजान २०७८ मा सामाजिक सञ्जाल टिकटकबाट भएको थियो।
'म्यासेजमा कुराकानी हुने क्रममा भुपेन्द्रले माया गर्छु विवाह गरौं भनी निरन्तर पिछा गरे,' उनले भनिन्, 'मैले धेरै सम्झाइ–बुझाइ गरेँ, तर मानेनन्।'
त्यही क्रममा २०७९ मंसिर १५ गते उनीहरूको पहिलोपटक काठमाडौंमा भेट भयो।
'वैशाख २ गते एक्कासि सुर्खेत आइपुगेँ भनेर फोन गरे। दिउँसो डेरा नजिकै गएर भेटघाट गरेको थिएँ। राति ११ बजेतिर मदिरा सेवन गरेर आए र बलात्कार गरे,' युवतीले भनिन्, 'प्रहरीले भने त्यो बेला उनको मोबाइलको लोकेसन सुर्खेतमा नदेखिएको भनिरहेको छ।'
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर दीपक मगरातीले भने उक्त घटना हुँदा आफू सुर्खेतमा नभएकाले कुन नम्बरको लोकेसन जाँच गरियो भन्ने थाहा नभएको बताए। युवतीले बयान फेरेका कारण आरोपीले सफाइ पाएको हुनसक्छ भन्ने उनको भनाइ छ।
युवतीले भने आफूले बयान नफेरेको दाबी गरेकी छन्।
हामीले अदालतको फैसला हेर्दा आरोपी ठगुन्नाले इन्कारी बयान दिएका छन्। उनले बयानमा भनेका छन्, '२०८० कात्तिक २९ गते प्रहरीमा मौखिक जाहेरी परेको जानकारी आयो। त्यसपछि ३० गते बस चढेर मंसिर १ गते सुर्खेत बसपार्क पुगेँ।'
उनले अगाडि भनेका छन्, 'भेटमा निजले मेरो जिम्मेवारी लिऊ भनेकी थिइन्। हामी साथी मात्र हौ भन्ने कुरामा विवाद भयो। अनि बलात्कार मुद्दामा जाहेरी दिएकी हुन्।'
युवतीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको थियो। उनी २ लाख रूपैयाँ धरौटीमा छुटेका थिए। पछि जिल्ला अदालतले सफाइ दिएको हो।
***
यो पनि पढ्नुहोस्: