सर्लाहीमा वन संरक्षकको विभत्स हत्या भएको छ।
ईश्वरपुर नगरपालिका वडा नम्बर २, राइटरखोरमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको विभत्स हत्या भएको हो।
उनी परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए।
घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार रामेश्वरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शनिबार बिहान ५ बजेतिर घरबाट निस्केका उनी दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीसँग सम्पर्कमा नआएको र फोनसमेत स्विच–अफ रहेकाले उनको खोजी सुरू गरिएको थियो।
सुरक्षाकर्मी समेतको सहयोगमा खोजी गर्ने क्रममा जंगलभित्र उनको शव फेला परेको हो।
प्रहरीले तालिमप्राप्त कुकुर समेत प्रयोग गरेर अनुसन्धान सुरू गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शव नजिकै रगत लागेको बन्चरो भेटिएको जानकारी दिए।
'शव फेला परेको स्थान नजिकै रगत लागेको बन्चरो भेटियो तर टाउको भेटिएको छैन,' उनले भने, 'बन्चरोले हानेर घाँटी काटिएको जस्तै देखिन्छ।'
राईका अनुसार तालिमप्राप्त कुकुरले घटनास्थलबाट केही पर पोखरीतर्फ संकेत गरेको छ। आइतबार पोखरीमा जाल हान्ने वा पानी सुकाएर हेर्ने तयारी प्रहरीले गरेको छ।
रामेश्वरको विभत्स हत्याको घटनाले परिवारजन र आफन्त शोकमा छन् भने स्थानीय बासिन्दा त्रसित छन्।
सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा एक्लै चौकीदारी गर्दै आएका रामेश्वरको असाध्यै निर्मम तरिकाले हत्या भएको दुःख व्यक्त गरेका छन्।
रामेश्वरले वन तस्करसँगको भिडन्तमा वीरगति प्राप्त गरेको भन्दै उनले वन संरक्षण सहिद घोषणा गरिनुपर्ने बताएका छन्।
'परिवारले भने अनुसार बिहान ५ः०० बजेतिर रूख काटेको आवाज आएपछि उहाँ साइकल लिएर निस्किनुभएको थियो। अबेरसम्म पनि ड्युटीवाला साथीहरू र परिवारसँग सम्पर्कमा नआएपछि खोजी सुरू गरिएको थियो,' विश्वकर्माले भने, 'दिउँसो १ः२० बजे घटनाबारे जानकारी पाएपछि परियोजना कर्मचारी र सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीले खोजी गरेको थियो। जंगलभित्र बन्चरोले घाँटी छिनाली विभत्स हत्या गरी झाडीमा फालिएको अवस्थामा शरीर फेला परेको छ। परियोजनालाई ठूलो क्षति पुगेको छ।'
प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी अभियुक्तलाई पनि पक्राउ गरेर कानुनी कारबाही गर्ने विश्वास उनको छ।