सर्लाहीमा मृतक वनरक्षक रामेश्वर महतोको टाउकोको खोजी सुरू गरिएको छ। घटनास्थल नजिकैको पोखरीमा फालिएको आशंकामा खोजी सुरू गरिएको हो।
प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने पोखरीमा जाली हान्न माझीहरूलाई बोलाइएको छ।
शनिबार ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा वन संरक्षक ४७ वर्षीय रामेश्वरको वीभत्स हत्या भएको थियो। उनी परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु)को रूपमा कार्यरत थिए। घरदेखि नजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको थियो। शवदेखि केहि मिटरको दुरीमा रगत लागेको बञ्चरो भेटिएको थियो। तर टाउको भेटिएको छैन।
परिवारका सदस्यहरूका अनुसार रूख काटेको आवाज सुनेपछि उनी शनिबार बिहान ५ बजेतिर घरबाट निस्केका थिए। दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीको सम्पर्कमा नआएको र फोनसमेत ‘स्वीच अफ’ भएपछि दिउँसो उनको खोजी सुरू गरिएको थियो।
खोजी गर्न क्रममा दिउँसो घाँट टोल नजिकै सागरनाथ वन परियोजनाको १० नं प्लटको बाटोदेखि १ सय मिटर पूर्वतर्फको झाडीमा उनको शव फेला परेको थियो। शवको टाउको भने अझै भेटिएको छैन। अनुसन्धानका लागि प्रहरीले धनुषाको लालगढस्थित केनल शाखाबाट तालिम प्राप्त कुकुर ल्याई सुरू गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी सरोज राईले पोखरीमा जाली हान्न माझीहरू बोलाइएको जानकारी दिए।
‘जाली हान्ने माझीहरू आइपुगेका छैनन्, उनीहरू आएपछि पोखरीमा जाली हानेर खोजी गर्छौं’ उनले भने, ‘ जाली हान्दा भेटिएन भने पोखरीको पानी सुकाएरै भए पनि खोजी गर्छौं।’
प्रहरीका अनुसार तालिम प्राप्त कुकुरले घटनास्थलबाट केही पर रहेको पोखरीतर्फ संकेत गरेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शनिबार राइटरखोरकै रामवली महतोलाई पक्राउ गरिसकेको छ। प्रहरी नायब उपरीक्षक सरोजले भने घटनाबारे थप अनुसन्धान चलिरहेको पक्राउ परे नपरेको बारेमा भन्न नमिल्ने बताए।